१२ श्रावण २०८१, शनिबार
Logo

म एक्काईसौं शताब्दीको दास होइन

विवेक ढकाल

प्रिय कमरेड
त्यो बेला
तिमीले बोकेका विचार र सिद्धान्तहरू
मन परेको हो – मलाई
तिमीले उठाएका ती राता झन्डाहरू
मन परेको हो-मलाई
तिमीले जिउँदै आएको सादगी जिन्दगी
झनै मन परेको हो – मलाई
तर आज नाङ्गै नाच्दै छौ त
कमरेड
कसरी भन्न सक्छु र म
दौरा सुरूवालमै सजिएका छौ भनेर ।

प्रिय कमरेड
त्यो बेला
तिमिले गरेका भाषणहरू
मन परेको हो – मलाई
तिमीले बाँडेका आश्वासनहरू
मन परेको हो – मलाई
तिमीले गाउँदै आएका गरिब र किसानका गीतहरू
झनै मन परेको हो- मलाई
तर आज
तिमीले गरेका अक्षम्य अपराधहरू
टुलुटुलु हेरेर
कमरेड
कसरी गाउन सक्छु र म
तिम्रा भक्ति गीतहरू
हलि – गोठालो झै बनेर ।

प्रिय कमरेड
त्यो बेला
तिम्रा फर्मानहरू
मन परेको हो – मलाई
तिम्रा व्यबहार र शैलीहरू
मन परेको हो – मलाई
क्रान्ति मार्गमा कहिल्यै नथाक्ने
तिम्रा पाइतालाहरू
झनै मन परेको हो- मलाई
तर आज
हाम्रा टाउकाहरूमा टेकेर
सबैलाई बुख्याँचा झै देख्ने
तिम्रा आँखाहरू
सम्पूर्ण मै हुँ / र म नै सम्पूर्ण हुँ भन्ने
अहंकार र घमण्डहरू देखि-देखी
कमरेड
कसरी भन्न सक्छु र म
एक्काईसौं शताब्दीको दास हुँ भनेर ।।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्