१२ श्रावण २०८१, शनिबार
Logo

धादिङमा क्वारेन्टाइनमा बसेका ९३ मध्ये ५७ जना घर फर्किए

कोरोना भाइरस (कोभिड– १९) फैलन नदिन लकडाउनसँगै विदेशबाट आएका र शंका लागेकाहरूलाई क्वारेन्टाइनमा राखिएको छ । धादिङमा पाँच सय २९ जना विदेशबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये क्वारेन्टाइनमा बसेका ९३ मध्ये १४ दिनको क्वारेन्टाइन बसाइपछि ५७ जना घर फर्किसकेका छन् । 

३६ जना संस्थागत क्वारेन्टाइन र बाँकी सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । टेस्ट किट अभावका कारण ऱ्यापिट टेस्टविना नै क्वारेन्टाइनमा बसेकाहरूलाई घर पठाउनुपरेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेलले बताए । ‘टेस्ट किट समयमै ल्याउन सकिएन । क्वारेन्टाइनमा बसेकाहरूलाई जटिल खालको समस्या नदेखिएपछि १४ दिनको बसाइपछि घर पठाउन थालियो,’ उनले भने, ‘तर, अब टेस्ट किट ल्याइएको छ । क्वारेन्टाइनमा बसेका सबैलाई ऱ्यापिट टेस्ट हुन्छ ।’

धादिङमा क्वारेन्टाइनमा बसेकाहरूमध्ये एकजनाको मात्र स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ देखिएको थियो । तर, ठूलो संख्यामा क्वारेन्टाइनमा बसेकाहरुलाई ऱ्यापिट टेस्टमा भने ढिलाइ भएको छ । जिल्लाभर ऱ्यापिट टेस्ट सुरु गरिएको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दीपक अछामीले बताए । एक सय १५ जनामा गरिएको परीक्षणमा सबै नेगेटिभ आएको छ । 

‘तीव्र गतिमा परीक्षण भइरहेको छ । आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने, ‘विदेशबाट आएका वा शंका लागेका तथा क्वारेन्टाइनमा बसेका सबैको ऱ्यापिट टेस्ट गर्ने हो । तर, ऱ्यापिट टेस्ट गर्ने किट अभाव छ । १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएकाहरूको पनि टेस्ट गर्ने तयारीमा छौँ ।’ 

Shivapuri rural municipality awareness message jalapanews

धादिङमा क्वारेन्टाइनमा बसेकाहरूको तुलनामा किट निकै कम आयात भएको छ । थप चार सय २० टेस्ट किट माग गरेको उनले बताए । १४ दिनको पेरिफेरीमा कोरोना भाइरस देखिने भएकाले परीक्षण अति आवश्यक रहेको उनले बताए । हाल ल्याइएको किटबाट १५ मिनेटमा रिपोर्ट आउने गरेको छ ।नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्