१२ श्रावण २०८१, शनिबार
Logo

शिव अधिकारीको संयोजनमा भीमलाल तामाङले २५०० थान मास्क तारकेश्वर पठाए

विश्वव्यापी कोरोना महामारीसँग जुध्ने अभियानका बीच नुवाकोटको तारकेश्वर गाउँपालिकामा मास्क तथा स्यानिटाइजर वितरणको कामले तीव्रता पाएको छ ।

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्षसमेत रहेका समाजसेवी शिव अधिकारी अविरलको संयोजनमा बिहीबार तारकेश्वरको वडा नं. ४ बुधसिंह, वडा नं. २ तारुका र वडा नं. १ दाङसिङका लागि समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता भीमलाल तामाङले २ हजार ५०० थान मास्क पठाएका हुन् । यसअघि अधिकारीकै संयोजनमा गाउँपालिकाका सबै वडामा गरी ९ हजार ७०० थान मास्क तथा ३०० थान स्यानिटाइजर वितरण भइसकेको छ ।

बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै समाजसेवी अधिकारीले विपद्का वेला गाउँपालिकावासीलाई महामारीसँग जुध्न सघाउने अभियान अन्तर्गत थप २ हजार ५०० मास्क पठाइएको बताएका छन् । आफ्नो आग्रहलाई स्वीकार गरी मानवसेवाको अभियानमा साथ दिएर महत्वपूर्ण योगदान गरेको भन्दै उनले सामाजिक अभियन्ता भीमलाल तामाङलाई विशेष धन्यवाद दिएका छन् ।

गाउँपालिकाका सबै वडामा घरघरै मास्क वितरण गर्ने आफ्नो अभियान अझै जारी रहने उनले बताएका छन् । तारकेश्वरमा एक दशकदेखि समाजसेवामा होमिएका अधिकारी यसपटक आफ्नो गाउँपालिकाभित्र मात्र सीमित रहेनन् । यसै साता उनले जिल्लाको उत्तरी भेगमा पर्ने किस्पाङ गाउँपालिकाभरि सेवामा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि १० थान पिपिई तथा एप्रोन सेट पठाएका छन् । उक्त सामग्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद बहादुरसिंह लामा मार्फत किस्पाङ गाउँपालिकाभित्र रहेका स्वास्थ्य केन्द्रहरूमा वितरण गरिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

लकडाउनअघि अधिकारीकै संयोजनमा ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले नुवाकोटको त्रिशूली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जानका लागि २ दिने नि:शुल्क बसको व्यवस्था समेत गरेका थिए । त्यतिखेर यात्रुको सुरक्षाका लागि मास्क पनि वितरण गरिएको थियो ।

चैत १० गतेदेखि सरकारले लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाएपछि भने बस सेवा रोकिएको थियो । भूकम्पका वेला पनि नुवाकोटवासीलाई आफ्नो तर्फबाट सहयोग गरेको स्मरण गर्दै समाजसेवी अधिकारीले अप्ठ्यारोमा सहयोग गर्नु मानवीय धर्म भएकाले आगामी दिनमा पनि यस्तै सहयोग जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्