२९ आश्विन २०८१, मंगलवार
Logo

लकडाउनको फेस : नयाँ देखाउन नमिलेर पुरानो खोज्ने होड !

फुर्सद नहुँदासम्म सबैलाई फुर्सदको पर्खाइ थियो । फुर्सद नमिलेको बहाना थियो । फुर्सद नभएर केही गर्न पाइएन भन्ने गुनासो थियोे । फुर्सद भयो भने के के न गर्छु भन्ने लाग्थ्यो । कोही दिनभर सुत्छु भन्थे । कोही आँखा नचिम्लिकन पढ्छु भन्थे । कसैले घरधन्दा मात्रै होइन, देश नै बनाउँछु भनेर फूर्ति लाउँथे । 

तर यी सबै फुर्सद नहुने बेला सोच्ने र भन्ने कुरा थिए । अघिल्लो सातादेखि आजका मितिसम्म दिनभर र रातभर मात्र होइन, हप्तौंभर फुर्सद छ । देशभर लक भएपछि बाहिर जान पाइएको छैन । चिडियाखानाको जनावरजस्तो भित्रै थुनिनुपरेको छ । काम गर्न जानु परेको छैन । बिहान उठेदेखि बेलुका नसुत्दासम्म फुर्सद नै फुर्सद छ । तर फुर्सद भयो भने यो यो गर्छु भनेर सोच्ने र भन्नेहरुलाई चाहिँ फुर्सदमा पनि फुर्सद मिलेको छैन । अझ भनौं फुर्सद धेरै भएको छ ।

फुर्सदै फुर्सद भएपछि मान्छेले दिन, गते, बार, घडी, तिथि, तारिख, चाडपर्व सबै भुल्न थाले । आज पनि हिजोजस्तै, हिजो पनि आजजस्तै । रात पनि दिनजस्तै, दिन पनि रातजस्तै । रातमा त रात परिहाल्यो, दिउँसै पनि मान्छेले रात पार्न थाले ।

पहिले सुत्न नपाएर थाक्नेहरु अहिले सुत्दासुत्दै थाक्न थाले । बसीबसी खान पाए कस्तो हुन्थ्यो भन्नेहरु बरु नखाए नि हुन्छ, हिँड्न पाए कस्तो हुन्थ्यो भन्न थाले । फुर्सदमा किताब पढ्छु भन्नेहरु बरु काममै जान पाए हुन्थ्यो भन्दै किताब पल्टाउन अल्छी मान्न थाले । अनि फुर्सदमा घरको कामदेखि देश नै बनाउँछु भन्नेहरु बरु फुर्सद नभएकै राम्रो भन्न थाले ।

Shivapuri rural municipality awareness message jalapanews

फुर्सद नहुँदा मात्रै फुर्सदको बहाना खोज्नेहरुले यो बीचमा हुने, नहुने सबै काम भ्याइसके । घरमा भएको झुलको प्वाल गनेर सिध्याए, अर्को झुल किनेर गन्न पसल खुलेको छैन । आफ्नो र श्रीमतीको कपालको रौं गनेर भ्याए, अर्को मान्छेको कपाल सुम्सुम्याउन थाल्दा कोरोना सर्ने डर । भातको गाँस र आकाशको तारा गन्न पनि अल्छी लाग्यो । मकै, चामल र भटमासको गेडा गनेर पनि खाइसक्ने बेला भयो । अब के गर्ने ?

अरुबेला फुर्सद हुँदा फेसबुकमा फेस देखाउने काम ठूलो हुन्थ्यो । पोजपोजका फोटो अपलोड गर्दा मज्जै हुन्थ्यो । तर अहिले फोटो देखाउने खालकै छैन । बाहिर निस्कन नपाएर घरमै बस्नु परेकाले मेकअप गर्न पाइएको छैन ।

दाह्री काट्ने, कपाल कोर्ने, सिंगारपटार र मेकअप गर्ने भनेको अरुलाई देखाउनको लागि हो । आफ्नो अनुहार कस्तो छ भन्ने घरका मान्छेलाई राम्रैसँग थाहा छ, देखाउनै परेन । घरकालाई देखाउन नपरेपछि दाह्री काट्ने र मेकअप गर्नै परेन । कतिले दाँत माझ्न पनि छाडिसके, कतिका दाह्री कपाल बढेर झाडीजस्तो भैसक्यो । कसैकसैले त लुगा लगाउन पनि बिर्सिसके ।

कोरोनाबाट बच्न हात धुनु भनेका छन्, मुख धुनु भनेका छैनन् । त्यसैले धेरैले त मुख धुन पनि बिर्सिसके । दाँत, मुख, कपाल, अनुहार नमिलेपछि धेरैका अनुहार हेर्नै नमिल्ने भएको छ । अहिलेको अनुहार फेसबुकमा राख्यो भने कतिले चिन्दैनन्, कतिले फेसबुकमा अनफ्रेन्ड नै गर्न बेर मान्दैनन् । भैरहेको सम्बन्ध पनि बिग्रिएला भन्ने डर । बाहिर गएर पोजपोजको फोटो खिच्न मिलेन, भित्रै बसेर पनि फोटो खिच्न मिल्ने गतिलो अनुहार भएन । अब के गर्ने ?

त्यसै बसेर त भएन, केही न केही त गर्नुपर्यो । त्यसपछि फेसबुकमा फेस देखाउने जमातले नयाँ आइडिया फुराए । अनि मेकअप नगरेको अनुहार देखिन्छ भनेर पुरानो फोटो खोज्ने होड चल्यो । पुरानो फोटो जतिसुकै नराम्रो भयो भने देख्नले राम्रो मान्छन् ।

मेकअप नगरेकै फोटोमा पनि लाइक र कमेन्टको ओइरो लाग्छ । त्यसमाथि कसैका पुराना फोटो त कोरोना भाइरस नै तर्सने खालको पनि हुँदो रहेछ । त्यसैले अरु देशका युवा कोरोनाको औषधि खोज्न थालेको बेला हाम्रा देशका फेसबुके युवा चाहिँ पुरानो फोटो बटुल्न थालेका छन् । लकडाउन अझै लम्बियो भने फेसबुकमा अरु पनि अनुसन्धान र खोजी देख्न पाइएला ।उज्यालोबाट

प्रतिक्रिया दिनुहोस्