१२ श्रावण २०८१, शनिबार
Logo

लक्ष्मीपूजा ढुक्कले झिलिमिली बनाउन कुलमानको आग्रह: समस्या समाधान गर्न प्राधिकरणको टिम तयारी अवस्थामा

काठमाण्डाै – लक्ष्मीपूजाको दिन वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने दिन हो । लक्ष्मीपूजाको दिनदेखि नागरिकले झिलिमिली बनाउने भएकाले आइतबार वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यो वर्षको लक्ष्मीपूजाको दिन आइतबार बढिमा १३ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ । ३ वर्ष अघिसम्म तिहारमा पनि लोडसेडिङ हुने गरेकोमा प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व सम्हालेपछि २०७३ सालको तिहारदेखि लोडसेडिङ हुन छाडेको छ ।

विगतमा भारतबाट आयात गरेर र चु्स्त व्यवस्थापन गरेर तिहारलाई झिलीमिली बनाएको प्राधिकरण यो वर्ष देशमै १ हजार मेगावाट विद्युत भैरहेकाले थप सहज अवस्थामा छ । तिहारमा कतै पनि अँध्यारो नहोस् भनेर प्राविधिक समस्याका समाधानको लागि कार्यकारी निर्देशक कुलमान घिसिङसहिको टोली तयारी अवस्थामा छ । 

‘हामी बिजुली नपुग्ला भन्ने चिन्तामा छौँ, त्यसैले सारा नेपालीलाई ढुक्कका साथ झिलिमिली गरेर तिहार मनाउन आग्रह गर्छु’, शनिवारको दिन पनि कार्यालयको काममा व्यस्त कुलमानले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘प्राविधिक समस्या आयो भने हाम्रो टोली स्ट्याण्डबाइ छ, धेरैबेर बत्ति जाँदैन ।’

Shivapuri rural municipality awareness message jalapanews

घिसिङका अनुसार आइतबार लक्ष्मीपूजाको दिन उच्च माग १३ सय मेगावाट सम्म पुग्ने सम्भावना छ । १ हजार मेगावाट जति  देशमै उत्पादन भएकाले बेलुकीको १-३ घन्टा भारतबाट ३ सय मेगावाटसम्म बिजुली आयात हुने सम्भावना छ ।

‘हामी देशमै उत्पादन भएको बिजुली व्यवस्थापन गरेर यो तिहार उम्काउने प्रयासमा छौँ, तर अपुग हुने देखिएमा भारतबाट आयात हुन्छ, बिजुली अपुग हुँदैन ’, घिसिङले भन्नुभयो ।

प्राविधिक समस्या समाधानको लागि टिम ‘स्ट्याण्डबाइ’,  कुकुर र बिरालोको डर !

नेपाल विद्युत प्राधिकरणले बिजुली अपुग नहुने बताए पनि विगतमा प्राविधिक कारणले लक्ष्मीपूजाको दिन धेरै ठाउँमा झ्याप्प झ्याप्प विद्युत जाने गरेको थियो । यो समस्या बर्सेनि विस्तारै कम हुँदै गएको छ । गएको आर्थिक वर्षमा देशैभरका सयौँ ट्रान्सफर्मर परिवर्तन गरिएको र पुराना उपकरण फेरिएकाले यो वर्ष धेरै समस्या नआउने प्राधिकरणको अपेक्षा छ । 

‘यो वर्ष त्यति धेरै प्राविधिक समस्या आउने सम्भावना छैन, यदि त्यस्तो भैहाल्यो भने देशैभर हाम्रा कर्मचारी तयारी अवस्था छन्, हामी जतिसक्यो छिटो बिजुली प्रवाह गर्ने अभियानमा हुनेछौँ  ।’

लक्ष्मीपूजाको दिन कार्यकारी निर्देशक घिसिङ आफैँ स्यूचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशैभरको बिजुलीको माग र आपूर्ति अवलोकन गर्ने कार्यक्रम छ । यस्तै उहाँले बढी माग हुने वितरण केन्द्रको पनि अवलोकन गर्नुहुुनेछ । 

यस्तै तिहारमा देश उज्यालो बनाउने अभियानमा मुसा, कुकुर र विरालो बाधक बन्ने डर रहेको छ । 

पोहोर गौरीघाटमा बाँदर झुण्डिएपछि तार चुँडिदा लक्ष्मीपूजाकै दिन बत्ति गएको थियो ।  केही ठाउँमा मुसाले तार काट्दा सर्ट भएर सिस्टम नै डाउन हुने गरेको छ । केही ठाउँमा  भने कुकुर बिरालो सबस्टेशनमा जाँदा सर्ट भएर बत्ती जाने गरेको छ । 

‘सुन्दा हाँसो लाग्छ सक्छ, हामीलाई धेरै ठाउँमा कुकुर बिरालोले दु:ख दिने गरेका छन्, हामीले कयौँपटक कुकुर, बिरालो, बाँदर र मुसाकै कारण दुख पाएका छौँ ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । उज्यालोबाट

प्रतिक्रिया दिनुहोस्