तिहारमा मालाको मूल्य यस वर्ष सस्तो, ७० रुपैंया भन्दा बढीमा बेच्न नपाईने

तिहार रंगीचंगी बत्ती, सयपत्री, मखमली र झिलिमिलिको चाड हो । बजारमा तिहारको चहलपहल सुरु हुन थालिसकेको छ । तिहारमा मालाको माग अत्यधिक हुने हुँदा मूल्य आकासिन्छ र उपभोक्ताहरु महंगीको मारमा पर्छन् । तर, यस पटक भने आम उपभोक्ताले फूलको मालामा केही राहत पाउने भएका छन् ।

यस वर्ष तिहारमा २५ लाख मालाको माग रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । यसमध्ये १८ लाख सयपत्री तथा सात लाख गोदावरी र मखमली मालाको माग रहेको एसोसिएसनको अध्ययनले देखाएको छ । १८ लाख सयपत्रीमा साढे १५ लाख माला नेपाली उत्पादनले नै धान्ने कसजुले बताए । नपुग साढे दुई लाख माला भारतबाट आयात हुनेछ । गत वर्ष २२ लाख मालाको माग थियो, त्यसमा ३ लाख भारतबाट ल्याइए पनि १ लाख मात्र प्रयोग भयो । बाँकी दुई लाख डम्पिङमा गएको थियो । प्रत्येक बर्ष झण्डै १५ प्रतिशतका दरले फूलको माग वृद्धि हुने गरेको उनको भनाइ छ ।

पछिल्लो समय नेपाल फूलमा आत्मनिर्भर हुने अवस्थामा पुग्न लागेको अध्यक्ष श्रेष्ठले बताए । फ्लोरिकल्चर एसोसियसनमा हाल सात सय व्यवसायी आवद्ध छन् । यी व्यावसायीक फूल खेती गर्नेहरु हुन भने तिहारलाई मात्र लक्षित गरेर फूलखेती गर्नेहरु पनि उल्लेख्य छन् । कतिपयले आफ्नो बारी, करेसा वा कौसीमा आफूलाई मात्र पुग्नेगरी फूल फुलाउने गरेका छन् ।
फ्लोरिकल्चर एसोसिएसनले उपभोक्तासम्म पुग्दाको मूल्य समेत निर्धारण गरेको छ । उपभोक्ताले सयपत्रीको प्रति माला ६० देखि ७० रुपैयाँ सम्म तिरे पुग्ने श्रेष्ठले जनाए । यद्यपि, गुणस्तर अनुसार मालाको मूल्य भने फरक पर्न सक्छ ।

यो एक मिटरको मालाको मूल्य हो । लम्बाइ अनुसार मालाको मूल्य बढ्दै जानेछ । गत वर्ष ८० रुपैयाँ देखि १०० रुपैयाँसम्ममा माला बेचेको उनले जनाए । यद्यपि, मालामा व्यवसायीहरुले आफूखुसी मूल्य निर्धारण गर्ने गरेका आरोप लाग्दै आएको छ । गत आर्थिक वर्षमा झन्डैै २ अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार भएको थियो । विदेशबाट १९ करोड रुपैयाँको पूmल आयात भएको एसोसिएसनले जनाएको छ । हाल १५७ हेक्टर क्षेत्रफलमा झन्डै ७०० बढी व्यवसायिक किसानहरु पुष्प खेती आवद्ध छन् ।

रातोपाटी डटकमबाट साभार
प्रतिक्रिया दिनुहोस्