१७ मंसिर २०७८, शुक्रबार
Logo
Hotel Yangra Nuwakot Trishuli

पाइपलाइन परीक्षण सफल, कहिलेबाट आउला तेल?

फाइल फोटो

बुधबार दिउँसो करिब १२ बजे बिहारको पटनाबाट पाइपलाइनमार्फत तेल पठाउन सुरु गरियो। शुक्रबार बिहान ६ बजे मात्रै अमलेखगञ्ज आइपुग्यो। पाइप सफा गर्दै तेल ल्याउनुपर्ने भएकाले समय लागेको परियोजना प्रमुख प्रदिप यादबले जानकारी दिए।

‘परीक्षण गर्न पाइपमा पानी, पाइप सफा गर्ने पदार्थ र डिजेल हालेर पठाइएको थियो। पाइप सफल भएकाले अब भारतमा एक क्लिक गरेपछि क्षणभरमै नेपालमा तेल आउँछ’,उनले भने।

पाइपलाइनको परीक्षण कार्यमा कुनै समस्या नआएको यादब बताउँछन्। ‘डिजल ल्याउँदा बीचमा पाइप फुटेर चुहिने भए गाह्रो हुन्थ्यो, त्यस्तोे केही भएन’ यादबले भने।

उनका अनुसार पाइपलाइनबाट १ हजार किलोलिटर डिजल परीक्षणका रुपमा आएको हो। सो परिमाणको डिजल डिपोमा हाल्न करिब ६ घण्टा लाग्यो। मध्यान्न १२ बजेसम्म डिपोमा हालिएको यादबले बताए।

‘अब पाइप भरेर राखिनेछ’ उनले भने ‘भारत र नेपालका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर उदघाटन गरेपछि मात्र औपचारिक रूपमा डिजेल ल्याइने छ।’ पाइप भरिन २१ सय किलोलिटर डिजेल लाग्नेछ।

पाइपलाइनको काम पुरा भए पनि अरु प्राविधिक काम भने बाँकी छ। कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम निर्माण भइरहेको परियोजना प्रमुख यादबले जानकारी दिए।

उनका अनुसार डिजेलको माग धेरै भएकाले पहिलो चरणमा डिजेल मात्र ल्याइन्छ। पेट्रोल ल्याउन भने १ वर्ष लाग्ने छ। साउन अन्तिममा पाइपलाइनको उदघाटन गर्ने तयारी भइरहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्।

पाइपलाइनबाट प्रतिघन्टा ३ सय किलोलिटर अर्थात ३ लाख लिटर पेट्रोलियम पदार्थ आउने अनुमान छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म (६९.५ किलोमिटर) नयाँ पाइपलाइन बिछ्याइएको हो। नयाँ पाइपलाइनमध्ये भारतमा ३२.२५ र नेपालमा ३७.२५ किलोमिटर पर्दछ। मोतिहारीबाट पटना झन्डै दुई सय किलोमिटर टाढा छ।

परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले २ सय करोड (भारू) अनुदान दिएको छ। नेपाल तर्फबाट ७५ करोड लगानी गर्ने निगमले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्