विपद्को बेला भ्रामक सूचनाको जोखिम

जलवायु तथा विपद्सम्बन्धी घटनामा कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएका दृश्य तथा अन्य स्थानका बाढीपहिरोका तस्बिर प्रयोग गर्दा नागरिकमा भ्रम फैलिनुका साथै पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पर्न सक्ने जलवायु विज्ञ उज्ज्वल उपाध्यायले बताएका छन्।
क्लाइमेट एक्सन नेपालका संस्थापक अध्यक्ष समेत रहेका उपाध्यायले भौगोलिक अवस्थाको विश्लेषण नगरी मौसम सम्बन्धी सूचनालाई सनसनीपूर्ण शीर्षकमा प्रस्तुत गर्दा नागरिकमा अनावश्यक त्रास फैलिने बताए। शुक्रबार ललितपुरमा क्लाइमेट एक्सन नेपाल र डिजास्टर जर्नालिजम नेटवर्कको सहजीकरणमा आयोजित ‘जलवायु, सञ्चार र विपद् सूचना : सटीक र संवेदनशील’ विषयक अन्तरक्रियामा उनले जलवायुजन्य विपद्का समाचार सम्प्रेषणमा तथ्य र सन्दर्भको महत्त्व औँल्याएका हुन्।
उपाध्यायले जलवायुजन्य क्षतिको अन्तर्राष्ट्रिय मान्यता, हिमताल विस्फोटको जोखिम तथा ‘नोक्सानी तथा क्षति कोष’को उपयोगबारे पनि जानकारी गराए। नेपालले पहिलोपटक उक्त कोषबाट रकम प्राप्त गर्न लागेको सन्दर्भ उल्लेख गर्दै उनले जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रमसँगै ठूला विपद्पछिको पुनर्निर्माणमा समेत रकमको प्रभावकारी उपयोग हुनुपर्ने बताए।
कार्यक्रममा वरिष्ठ पत्रकार रघु मैनालीले विपद्का बेला अस्पष्ट र अपूरो सूचना प्रवाहले नागरिकमा थप त्रास सिर्जना गर्ने बताए। प्राविधिक तथा जटिल सूचनालाई सर्वसाधारणले सहजै बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो। पूर्वसूचनाको अर्थ र गम्भीरता नागरिकले सही रूपमा बुझ्न नसक्दा अपेक्षित सतर्कता अपनाउन कठिन हुने उनले बताए।
त्यस्तै, भरतपुर महानगरपालिकाका सदस्य विष्णु बहादुर भुजेलले माथिल्लो तटीय क्षेत्रमा आउने बाढी तथा पहिरोको असर तल्लो तटीय क्षेत्र हुँदै भरतपुर र नवलपुरसम्म पुग्न सक्ने बताए। उनले सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार पूर्वसूचना प्रणाली र समुदायस्तरको सचेतना अभिवृद्धिमा गम्भीर रहेको जानकारी दिए।
कार्यशालामा सहभागी विज्ञ तथा सञ्चारकर्मीले जलवायु तथा विपद्सम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्यको पुष्टि, भौगोलिक सान्दर्भिकता, मानवीय संवेदनशीलता र नागरिकको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। विपद्का समयमा सनसनीपूर्ण तथा भ्रामक सूचना फैलाउनुको सट्टा सही, विश्वसनीय र समयमै उपयोगी जानकारी प्रवाह गर्नु सञ्चारमाध्यमको जिम्मेवारी भएको उनीहरूको भनाइ थियो।













प्रतिक्रिया दिनुहोस्