विदुर–७ का १७५ बाढीपीडितलाई ५० हजारको भौचर वितरण गरिने

नुवाकोट। विदुर नगरपालिका वडा नं. ७ का बाढीपीडित तथा घरबिहीन १७५ जना लाभग्राहीलाई रु. ५० हजार बराबरको चेक भौचर वितरण गरिने भएको छ।
चुजी फाउन्डेसन, ताइवानको सहयोगमा भाटभटेनी सुपरमार्केटको रु. ५० हजार बराबरको चेक भौचर वितरण कार्यक्रम सञ्चालन हुन लागेको हो। उक्त कार्यक्रम कात्तिक १५ गते आइतबार दिउँसो १२ बजेदेखि बट्टारस्थित रानी मौरी ब्याङ्क्वेटमा आयोजना गरिने जनाइएको छ।
सम्बन्धित लाभग्राहीहरूले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातसहित कार्यक्रममा उपस्थित भई चेक भौचर प्राप्त गर्न सक्नेछन्। लाभग्राही स्वयं उपस्थित हुन नसक्ने अवस्थामा निजको एकाघरका परिवारका सदस्यले आवश्यक परिचय खुल्ने कागजातसहित उपस्थित भएर चेक भौचर बुझ्न सक्नेछन्।
फाउन्डेसनबाट प्राप्त जानकारीअनुसार दिउँसो १२ बजेदेखि १:३० बजेसम्म मात्र सेवा उपलब्ध हुनेछ। निर्धारित समयपछि आउने लाभग्राहीलाई सेवा उपलब्ध गराउन नसकिने भएकाले सम्बन्धित सबैलाई समयमै उपस्थित हुन अनुरोध गरिएको छ।
आयोजकले सम्बन्धित लाभग्राहीहरूलाई तोकिएको समय र स्थानमा उपस्थित भई सहयोग प्राप्त गर्न आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्