११ कार्तिक २०८३, मंगलवार
Logo

नेपाली कम्युनिस्ट पार्टीको माग ; बाढी पीडितलाई क्षतिपूर्ति र सुरक्षित पुनर्स्थापना तत्काल व्यवस्था गर

नुवाकोट । नेपाली कम्युनिस्ट पार्टी, विदुर नगर समितिले बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत, उचित क्षतिपूर्ति, सुरक्षित पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण गर्न माग गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।

पार्टीका विदुर नगर समिति संयोजक भोजराज पनेरूले नगर प्रमुख श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विपद् प्रभावित नागरिकको समस्या समाधानका लागि नगरपालिकाले प्राथमिकताका साथ आवश्यक पहल गर्न आग्रह गरेका हुन्।

ज्ञापनपत्रमा बाढीबाट प्रभावित घरपरिवार, जग्गाजमिन, उद्योग–व्यवसाय, कृषि तथा अन्य सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी मूल्यांकनका आधारमा राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। सरकारले घोषणा गरेका राहत रकम वितरणमा देखिएका समस्या समाधान गर्दै वास्तविक पीडितले समयमै सहायता पाउने व्यवस्था गर्नुपर्नेमा समेत जोड दिइएको छ।

त्यसैगरी, विपद्‌बाट प्रभावित व्यवसायीलाई स्थानीय कर, व्यवसाय कर, घरबहाल कर तथा व्यवसाय नवीकरण शुल्कमा कानुनी व्यवस्थाअनुसार सहुलियत दिनुपर्ने माग गरिएको छ। प्रभावित उद्योग, पसल, होटल, यातायात तथा स्वरोजगारमा संलग्न व्यक्तिको व्यवसाय पुनः सञ्चालनका लागि सहुलियतपूर्ण ऋण, अनुदान र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन पनि पार्टीले आग्रह गरेको छ।

Shivapuri rural municipality awareness message jalapanews

ज्ञापनपत्रमा विस्थापित तथा उच्च जोखिममा रहेका परिवारको सुरक्षित पुनर्वासका लागि व्यवस्थित पुनर्वास नीति र एकीकृत बस्ती विकासको योजना बनाउनुपर्ने उल्लेख छ। पुनर्वास क्षेत्रमा सडक, खानेपानी, विद्युत्, सञ्चार, स्वास्थ्य, शिक्षा, ढल निकास तथा अन्य आधारभूत सेवाको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् लगायतका सार्वजनिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने र भविष्यमा विपद्को जोखिम न्यूनीकरण हुने गरी सुरक्षित संरचना निर्माण गर्नुपर्नेमा पनि पार्टीले जोड दिएको छ।

त्यस्तै, सहकारी संस्थाको सञ्चालन तथा व्यवस्थापन व्यवस्थित बनाउन, बचतकर्ताको बचत र हित संरक्षण गर्न, अभिभावकविहीन बालबालिका तथा विपद्‌बाट प्रभावित असहाय परिवारका लागि विशेष संरक्षण र सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ।

पार्टीले राहत, पुनर्वास र पुनर्निर्माणका कार्यक्रम प्रभावकारी बनाउन स्थानीय, प्रदेश र संघीय सरकारका सम्बन्धित निकायबीच समन्वय गर्नुपर्ने तथा बजेट, कार्ययोजना, खर्च विवरण र प्रगतिको अवस्था पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने मागसमेत गरेको छ।

विपद् प्रभावित नागरिकको सुरक्षित भविष्य, सम्मानजनक पुनर्वास र आर्थिक पुनरुत्थान सुनिश्चित गर्न विदुर नगरपालिकाले आवश्यक संवेदनशीलता र जिम्मेवारीका साथ तत्काल पहल गर्ने अपेक्षा पार्टीले गरेको छ।

नेपाली कम्युनिस्ट पार्टी, विदुर नगर समितिले ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला विपद् व्यवस्थापन समिति तथा सम्बन्धित वडा कार्यालयहरूलाई समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्