२ आश्विन २०८३, शुक्रबार
Logo

त्रिशूलीको बाढीले बगाएका दुई ‘लकर’ प्रहरीको सुरक्षित नियन्त्रणमा, प्रमाणसहित सम्पर्क गर्न नुवाकोट प्रहरीको आग्रह

विदुर, नुवाकोट।
गत भाद्र १० गते भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण खोलाले बगाएर ल्याएका दुई वटा महत्वपूर्ण ‘लकर’ जिल्ला प्रहरी कार्यालय नुवाकोटले फेला पारेको छ। बाढी आए लगत्तै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा तदारुकताका साथ खटिएको प्रहरी टोलीले फेला पारेका ती लकरहरूलाई हाल प्रहरी कार्यालयको निगरानीमा अत्यन्त सुरक्षित साथ राखिएको छ। बाढी आएको लामो समय भइसक्दा र प्रहरीले निरन्तर प्रयास गर्दा पनि उक्त लकरहरू हालसम्म कसको हो र कहाँबाट बगेर आएको हो भन्ने कुरा खुल्न वा सनाखत हुन सकेको छैन।

यसैबीच जिल्ला प्रहरी कार्यालय नुवाकोटले एक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित लकर धनीहरूलाई सम्पर्कमा आउन विशेष अनुरोध गरेको छ। प्रहरीका अनुसार फेला परेका दुई लकरहरू फरक-फरक स्थान र स्वरूपमा फेला परेका हुन्, जसमध्ये तस्बिरमा खण्ड-खण्ड परेको स्वरूपमा देखिएको पहिलो लकर विदुर नगरपालिका वडा नम्बर ३ स्थित छत्रेखोलाबाट फेला पारिएको हो। त्यसैगरी तस्बिरमा एउटा सेतो खालको (प्लेन स्वरूप) देखिएको दोस्रो लकर विदुर नगरपालिका वडा नम्बर ३ कै बुद्धसिंह घाट मैरिटार क्षेत्रबाट प्रहरीले फेला पारेर सुरक्षित राखेको हो।

Shivapuri rural municipality awareness message jalapanews

बाढीका कारण आफ्ना यस्ता बहुमूल्य सामग्री वा लकर गुमाएका नागरिक तथा संघसंस्थाहरूलाई प्रहरीले सार्वजनिक गरेका फोटोहरू मार्फत आफ्नो लकर पहिचान गर्न आग्रह गरेको छ। लकर आफ्नै भएको दाबी गर्ने सम्बन्धित व्यक्तिहरूले आफ्नो पहिचान खुल्ने आवश्यक आधिकारिक कागजात, प्रमाण तथा लकरभित्र रहेका सामग्रीहरूको ठोस विवरणसहित तुरुन्त जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सम्पर्क राखेर आफ्नो सामान बुझिलिन प्रहरीले सम्पूर्णमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्