रसुवा–नुवाकोट सहित बाढीपहिरा प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र

नुवाकोट, भदौ २० । रसुवा–नुवाकोट सहित बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार तथा निमार्ण कार्यलाई तीव्र बनाएको छ ।
नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल जडानको काम गरिरहेको छ ।
नेपाली सेनाले शनिबार साँझ ७ बजेसम्म हवाई साधन मार्फत अमेरिकन र चिनियाँ नागरिक एक–एक जनासहित ३९ जनाको उद्धार गरेको जनाएको छ । हालसम्म हवाई उद्धारमार्फत २७५ जना विदेशी नागरिक सहित ३ हजार ९९७ जनाको उद्धार गरिएको छ ।
रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे हाइड्रो र माथिल्लो त्रिशूली–१ का सुरुङमा संयुक्त उद्धार टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ । माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङबाट चिनियाँ नागरिक लु हाइताओलाई जीवित उद्धार गर्नुका साथै दुई शवसमेत फेला पारिएको सेनाले जनाएको छ ।
यसैगरी प्रभावित क्षेत्रमा पैदल गस्ती मार्फत समेत खोज तथा उद्धार भइरहेको छ । त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल मार्फत शनिबार ३१ जनालाई स्वास्थ्य सेवा दिइएको छ । हालसम्म ३ हजार २९७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजार ३ सयभन्दा बढी नेपाली सेना प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।













प्रतिक्रिया दिनुहोस्