१३ भाद्र २०८३, शनिबार
Logo

देविघाट क्षेत्रमा बाढीको महाप्रलय: एकद्वार प्रणालीबाट राहत बाँड्ने वडा अध्यक्ष न्यौपानेको घोषणा

नुवाकोट। त्रिशूली नदीमा आएको महाप्रलयकारी बाढीका कारण विदुर नगरपालिका वडा नं. ५, अन्तर्गतको देविघाट क्षेत्रमा विभिन्न भौतिक संरचनामा ठुलो क्षति पुगेको छ। बाढीका कारण देविघाटवासी निकै ठुलो पीडामा रहेका बेला विदुर–५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेले एक अपिल जारी गर्दै दुःख र सहानुभूति व्यक्त गर्नुभएको छ।

वडा अध्यक्ष न्यौपानेले यस कठिन परिस्थितिमा वडाको स्रोत, साधन र क्षमताले भ्याएसम्म प्रभावित परिवारहरूलाई राहत सामग्री उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभएको छ। राहत वितरण कार्यलाई व्यवस्थित, पारदर्शी र समानुपातिक बनाउनका लागि उपलब्ध स्रोत–साधनको उचित परिचालन गरी ‘एकद्वार प्रणाली’ मार्फत प्रक्रिया अघि बढाउने तयारी भइरहेको उहाँले बताउनुभएको छ।

Shivapuri rural municipality awareness message jalapanews

राहत तथा सहयोग उपलब्ध गराउने विभिन्न संघ–संस्था, सामाजिक संघ–संगठन तथा सहयोगी मनहरूसँग आवश्यक समन्वय र सहकार्य गरी प्राप्त सामग्रीहरूलाई वास्तविक प्रभावित परिवारसम्म पुर्‍याउने व्यवस्था मिलाइने अपिलमा उल्लेख छ।

विपद्को यस कठिन घडीमा कोही पनि आक्रोशित, निराश वा हतोत्साही नहुन अनुरोध गर्दै वडा अध्यक्ष न्यौपानेले भन्नुभएको छ, “सबैको पीडा र समस्यालाई गम्भीरतापूर्वक लिँदै आवश्यकता अनुसार सहयोग पुर्‍याउन हामी निरन्तर प्रयासरत छौँ। विपद्को यस घडीमा हामी सबै प्रभावित परिवारको साथमा छौँ।”

प्राकृतिक विपद्का कारण भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति अत्यन्त दुःखी र मर्माहत भएको उल्लेख गर्दै वडा कार्यालयले सकुशल रहेका सम्पूर्ण वडावासी आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्य, संयम र एकआपसमा सहयोग गर्दै अघि बढ्न हार्दिक अनुरोध समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्