८ भाद्र २०८३, सोमबार
Logo

नुवाकोटको पञ्चकन्यामा बाढीपहिराको वितण्डा:अर्बौ क्षति, गाउँपालिकाद्वारा सहयोगको अपील

नुवाकोट — नुवाकोट जिल्लाको पूर्वी भेगमा रहेको पञ्चकन्या गाउँपालिकामा भदौ ४ र ५ गते परेको अविरल र भीषण वर्षाका कारण अर्बौँ रुपैयाँ बराबरको ठूलो धनजनको क्षति भएको छ।

बाढी र पहिरोले गाउँपालिकाका विभिन्न वडाहरूका भौतिक पूर्वाधार, कृषि, र निजी आवासहरूमा गम्भीर क्षति पुर्‍याएपछि स्थानीय जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ। गाउँ कार्यपालिकाका अध्यक्ष तेज बहादुर तामाङले एक हार्दिक अपील जारी गर्दै यस संकटको घडीमा संघीय सरकार, प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, विभिन्न गैरसरकारी संस्था तथा सहयोगी मनहरूसँग राहत र पुनर्स्थापनाका लागि आपतकालीन सहयोगको आह्वान गर्नुभएको छ।

बाढी र पहिरोले निम्त्याएको मुख्य क्षतिहरू: यातायात र सञ्चालन अवरुद्ध: सडक पूर्वाधार पूर्ण रूपमा ध्वस्त हुँदा गाउँपालिकाको सदरमुकाम र राजधानीसँगको सीधा सडक सञ्जाल विच्छेद भएको छ। बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएका छन्।

कृषि र दुग्ध व्यवसायमा वज्रपात: सडक बन्द भएपछि स्थानीय किसानहरूले उत्पादन गरेको दूध र तरकारी बजारसम्म पुर्‍याउन नसक्दा दैनिक ठूलो आर्थिक नोक्सानी भइरहेको छ। घ्याङस्वाँरास्थित सहिद स्मारक पर्यटकीय पार्कमा रहेको खेल मैदानमाथिबाट पहिरो जाँदा करोडौँको क्षति भएको छ।

Shivapuri rural municipality awareness message jalapanews

खानेपानी र स्वास्थ्यमा संकट: बाढीले खानेपानीको मुख्य मुहान र वितरण प्रणाली बगाएपछि स्वच्छ पिउने पानीको चरम हाहाकार मच्चिएको छ, जसले गर्दा महामारी फैलिने उच्च जोखिम बढेको छ। वडा नं. ४ को स्वास्थ्य चौकी भवन समेत अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुगेको छ।

विस्थापन र भोकमरीको खतरा: तीन दर्जनभन्दा बढी स्थानीय नागरिकका घरहरू बगेका छन्। खेतीयोग्य जमिन बगरमा परिणत भएको छ भने कृषकका गोठ र पशुचौपाया समेत बाढीले बगाएको छ। विस्थापित परिवारहरूलाई तत्कालका लागि गाँस, बास र कपासको व्यवस्थापन गर्न अत्यन्तै कठिन भइरहेको छ।

सहयोग र उद्धारको अपील: गाउँपालिकाले सीमित स्रोत र साधनका कारण यो ठूलो प्राकृतिक विपत्तिको एक्लै सामना गर्न असम्भव रहेको स्पष्ट पारेको छ। तसर्थ, प्रभावित नागरिकहरूको उद्धार, सुरक्षित स्थानान्तरण, र पुनर्स्थापनाका लागि सबै क्षेत्रबाट हातेमालो गर्न अनुरोध गरिएको छ। साथै, विपद्को यस कठिन समयमा दिन-रात नभनी नागरिकको जीउधनको सुरक्षा र उद्धार कार्यमा खटिने जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गाउँ प्रहरी र स्थानीय युवाहरूलाई गाउँपालिकाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। संकट व्यवस्थापनमा निरन्तर समन्वय गरिरहेका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायप्रति पनि गाउँपालिकाले आभार प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्