शिवपुरीमा बस र ईभी भ्यान दुर्घटना, दुई जनाको मृत्यु

नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङस्थित टोखा–छहरे सडकखण्डमा बस र ईभी भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ८:२५ बजे काठमाडौंबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस सडकछेउमा रोकिराखी चालक तथा यात्रुहरू खाजा खान गएको अवस्थामा अचानक गुडेको थियो। गुडेको बसले अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिँदा दुवै सवारीसाधन सडकबाट करिब ३०–४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा बसमा सवारमध्ये पाँच जना महिला घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको थियो। घाइतेमध्ये कृष्णमाया प्रजापती डंगोल र उदयमाया खत्रीको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।
घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेको बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन्। उनीहरूको क्रमशः हात, हात तथा टाउको र ढाडमा चोट लागेको बताइएको छ।
दुर्घटनामा संलग्न बस चालक काभ्रेको पाँचखाल नगरपालिका–७ बस्ने करिब ४५ वर्षीय सीताराम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा सवार यात्रुको संख्या भने अझै यकिन हुन सकेको छैन।
घटनालगत्तै गुर्जेभञ्ज्याङस्थित अस्थायी प्रहरी पोस्टबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान तथा अन्य विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्