वन्यजन्तु भालुको खुट्टा जस्तो देखिने आखेटोपहारसहित रसुवामा दुई जना पक्राउ

रसुवा, २६ साउन ।
रसुवामा वन्यजन्तु भालुको खुट्टा जस्तो देखिने २ वटा आखेटोपहारसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई धुन्चेबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ बस्ने २९ वर्षीय गोम्बो तामाङ र वडा नम्बर ३ बस्ने २४ वर्षीय तोप्देन तामाङ रहेका छन्।
प्रहरीका अनुसार पासाङ ल्हामु राजमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६, धुन्चेस्थित सडकखण्डमा गत्तालाङबाट त्रिशुलीतर्फ जाँदै गरेको प्र.३. ०१ ००५ ख ९७८३ नम्बरको टिपर गाडीलाई जाँच गर्ने क्रममा उक्त आखेटोपहार फेला परेको थियो।
चालक गोम्बो तामाङले चलाएको उक्त टिपरको हाइड्रोलिक पाईपमुनि रातो डोरीले बाँधेर लुकाई छिपाई ल्याएको अवस्थामा भालुको खुट्टा जस्तो देखिने वस्तु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धुन्चेका सूचना अधिकारी एवं प्रहरी निरीक्षक डिल्ली राज सापकोटाले जानकारी दिनुभयो।
प्रहरीले आखेटोपहार र टिपर गाडीसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, धुन्चे रसुवामा बुझाएको छ।













प्रतिक्रिया दिनुहोस्