जनताको साथमा पञ्चकन्या अध्यक्ष तामाङ, राति नै घटनास्थल पुगेर उद्धारदेखि अस्थायी बसोबासको व्यवस्था गरे

नुवाकोट — अविरल वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५, भद्रुटार बैदेटोलमा पहिरो जाँदा तीन परिवार प्रभावित भएका छन्। गएराति करिब ११ः४५ बजे आएको पहिरोले स्थानीय सुरेश थपलिया, उमेश थपलिया र श्याम थपलियाको घरमा क्षति पुर्याउनुका साथै घरभित्र लेदो माटो र पहिरो पस्दा ठूलो भौतिक क्षति भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’को नेतृत्वमा गाउँपालिका प्रहरी, पञ्चकन्या इलाका प्रहरी, गाउँपालिकाका कर्मचारी तथा स्थानीयवासीको टोली राति नै घटनास्थल पुगेको थियो।
टोलीले जोखिममा रहेका परिवारका सदस्यलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गरेको थियो। उद्धारका क्रममा घरभित्र रहेका महत्वपूर्ण कागजात तथा आवश्यक सामग्रीसमेत सुरक्षित रूपमा बाहिर निकालिएको थियो। घटनामा मानवीय क्षति भने हुन पाएन।

घटनापछि अध्यक्ष तामाङको नेतृत्वमा गाउँपालिकाको टोलीले शुक्रबार बिहानैदेखि पुनः घटनास्थलमा पुगेर राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएको थियो। पीडित परिवारका लागि तत्काल बसोबासको व्यवस्था गर्न अस्थायी टहरा निर्माण गर्ने कार्यमा अध्यक्ष तामाङ स्वयं श्रमदानसहित प्रत्यक्ष रूपमा खटिएका थिए। आवश्यक व्यवस्थापनको काम दिउँसो नै सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरी पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्नुका साथै थप जोखिमको अवस्थासमेत मूल्याङ्कन गरेको छ। पीडित परिवारलाई आवश्यक राहत, अस्थायी बसोबास तथा पुनःस्थापनाको व्यवस्था मिलाउने र आगामी दिनमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ।

विपद्को समयमा राति नै घटनास्थलमा पुगेर उद्धारमा खटिनेदेखि भोलिपल्ट अस्थायी बसोबासको व्यवस्था मिलाउनेसम्म अध्यक्ष तामाङ स्वयं प्रत्यक्ष रूपमा सक्रिय भएपछि स्थानीयवासीले गाउँपालिकाको तत्परताको प्रशंसा गरेका छन्।

गाउँपालिकाले विपद्को समयमा तत्काल उद्धार, राहत, सुरक्षित बसोबास र पुनःस्थापना सबै तहका सरकार तथा सम्बन्धित निकायको साझा दायित्व रहेको जनाएको छ। साथै, पहिरोबाट प्रभावित परिवारलाई थप राहत तथा सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

घटनास्थलमा उद्धार तथा व्यवस्थापनमा सहयोग गर्ने पञ्चकन्या इलाका प्रहरी, गाउँपालिका प्रहरी, गाउँपालिकाका कर्मचारी, स्थानीयवासी तथा अन्य सहयोगीप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।













प्रतिक्रिया दिनुहोस्