३० असार २०८३, मंगलवार
Logo

नुवाकोटमा फिल्मी माहोल: ‘कंगाल करोडपति’को छायाँकन हुँदै, स्थानीय प्रतिभालाई ठूलो अवसर!

नुवाकोट अब नेपाली चलचित्र उद्योगको आकर्षक गन्तव्य बन्ने भएको छ। चर्चित अभिनेता मुकुन भुषाल, डेब्यु अभिनेत्री सलिना तामाङ र प्रतिभाशाली कलाकार रेयर राईको प्रमुख अभिनय रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कंगाल करोडपति’ को छायाँकन नुवाकोटका रमणीय तथा ऐतिहासिक स्थानहरूमा हुने पक्का भएको छ।

निर्देशक राजु श्रेष्ठका अनुसार विस्तृत लोकेसन रेकी सम्पन्न भएपछि नुवाकोटलाई चलचित्रको मुख्य छायाँकन स्थलका रूपमा छनोट गरिएको हो। प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र मनमोहक दृश्यका कारण नुवाकोट फिल्म निर्माणका लागि उत्कृष्ट गन्तव्य बनेको उनले बताए।

सबैभन्दा उत्साहजनक पक्ष भनेको यस चलचित्रमार्फत नुवाकोटकै स्थानीय कलाकारले पनि ठूलो पर्दामा अभिनय गर्ने सुनौलो अवसर पाउने भएका छन्। निर्देशक श्रेष्ठका अनुसार छिट्टै जिल्लामै खुला अडिसन आयोजना गरिनेछ, जहाँ नयाँ तथा प्रतिभाशाली स्थानीय कलाकारले आफ्नो अभिनय क्षमता देखाउँदै चलचित्रमा स्थान बनाउन सक्नेछन्।

Shivapuri rural municipality awareness message jalapanews

फिल्मको छायाँकन देवघाट, चारघरे, विदुर लगायत नुवाकोटका विभिन्न चर्चित तथा रमणीय स्थानमा गरिने तयारी छ। यसले नुवाकोटको पर्यटन प्रवर्द्धनसँगै स्थानीय व्यवसाय र चलचित्र गतिविधिलाई समेत नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।

‘कंगाल करोडपति’ सिनेमा पाठशाला प्रा.लि. को ब्यानरमा निर्माण हुन लागेको हो। चलचित्रका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन्।

त्यसैगरी छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा सह-निर्माताका रूपमा आबद्ध छन्। रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरको जिम्मेवारीमा छन्।

चलचित्रको कथा सुमन गजमेरले लेखेका हुन्। पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित यो ड्रामा चलचित्रले मनोरञ्जनसँगै सशक्त सामाजिक सन्देश दिने निर्माण टिमको विश्वास रहेको छ।

अब नुवाकोट फिल्मको पर्दामा मात्रै होइन, स्थानीय प्रतिभाको उज्यालो भविष्य कोर्ने थलो बन्ने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्