४ बैशाख २०८३, शुक्रबार
Logo

नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा भिमराज बज्राचार्य चयन

नुवाकोट सुनचाँदी व्यवसायी संघ

नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा भिमराज बज्राचार्य पुनः चयन भएका छन्। विदुरमा शनिबार सम्पन्न १२औँ र १३औँ साधारणसभा तथा चौथो अधिवेशनबाट उनको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा प्रदीप शाक्य, सचिवमा सबिन अमात्य र कोषाध्यक्षमा इश्वर सुनार चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सैलेन्द्र बज्राचार्य, राजकुमार सुनार, सुजन बज्राचार्य र नानू गुरुङ रहेका छन्। साथै, सन्तोष सुनार र ईश्वर बिश्वोकर्मालाई सदस्यमा मनोनयन गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले स्थानीय सरकार व्यवसायीहरूको प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताए। बजारमा उपभोक्ता ठगीसम्बन्धी हल्ला फैलिएको उल्लेख गर्दै उनले सरोकारवालाहरूलाई सजग रहन आग्रह गरे। पछिल्लो समय सुनको मूल्य वृद्धि हुँदा व्यवसायीहरू जोखिममा परेको भन्दै उनले बजार क्षेत्रमा CCTV जडानका लागि नगरपालिका सहयोग गर्न तयार रहेको जानकारी दिए।

नेपाल सुनचाँदी व्यवसायी संघ बाग्मती प्रदेशका अध्यक्ष ज्योतिरत्न बज्राचार्यले सुनको मूल्यमा भएको निरन्तर वृद्धिले व्यवसाय प्रभावित भएको बताए। उनले यस क्षेत्रका लागि छुट्टै कानुन आवश्यक रहेकोमा जोड दिँदै व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न सकिने उल्लेख गरे।

Shivapuri rural municipality awareness message jalapanews

पुनः निर्वाचित अध्यक्ष भिमराज बज्राचार्यले व्यवसायीहरूको हकहित संरक्षणमा सक्रिय रहने र स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

हाल नुवाकोट जिल्लाका ६३ जना व्यवसायी उक्त संघमा आबद्ध रहेका छन्।

प्रतिक्रिया दिनुहोस्