४ आश्विन २०८३, आईतवार
Logo

बाढीले बगाएको त्रिशूली सहकारीको भवनभित्र उत्खनन गर्दा सेफ फेला, १४ लाखभन्दा बढी रकम अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण


विदुर, नुवाकोट।
गत भाद्र १० गते भोटेकोशी नदी हुँदै आएको बाढी पश्चात् विदुर नगरपालिका वडा नम्बर १ मा रहेको त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको क्षतिग्रस्त भवनभित्रबाट १४ लाख रुपैयाँभन्दा बढी नगद सुरक्षित फेला पारिएको छ। बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएर पुरिएको त्रिशुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवनभित्र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नुवाकोटका विभिन्न नेता तथा कार्यकर्ताहरूको विशेष सक्रियता र श्रमदानमा उत्खनन कार्य अघि बढाइएको थियो। यसरी भग्नावशेष पन्छाउने र उत्खनन गर्ने क्रममा सहकारीको सेफ सुरक्षित फेला परेको हो, जसभित्र रहेको कुल १४ लाख १४ हजार ९५१ रुपैयाँ नगद सहकारीका अध्यक्ष हरि लाल श्रेष्ठलाई सुरक्षित रूपमा हस्तान्तरण गरिएको छ।

प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक र भौतिक क्षति व्यहोरेको यस क्षेत्रमा राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय कार्यकर्ताहरूको सामूहिक सक्रियतामा संकटको समयमा पनि संस्थाको सम्पत्ति सुरक्षित निकाल्न सम्भव भएको भन्दै यस कार्यको स्थानीय स्तरमा उच्च प्रशंसा भइरहेको छ। बाढीले भवन बगाएर बगर बनाएको कठिन परिस्थितिमा समेत पार्टीका नेता तथा कार्यकर्ताहरू अग्रसर भई गरिएको यो खोज तथा उत्खनन कार्यले सहकारीका सेयर सदस्य तथा सञ्चालकहरूमा ठूलो राहत मिलेको बताइएको छ। यसरी संकलन भएको रकम सहकारीको आन्तरिक व्यवस्थापन र आगामी योजनाहरूमा महत्वपूर्ण सहयोगी बन्ने विश्वास लिइएको छ भने रकम बुझ्दै सहकारीका अध्यक्ष श्रेष्ठले विपद्को यो घडीमा अहोरात्र खटिएर सहकारीको सेफ र नगद जोगाउन अतुलनीय योगदान दिने सम्पूर्ण नेता, कार्यकर्ता तथा सहयोगी हातहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्

लोकप्रिय