त्रिशूलीपारिका बाढीपीडितको आन्दोलन, तत्काल अस्थायी आवतजावतको व्यवस्था गर्न माग

विदुर, नुवाकोट।
गत भाद्र १० गतेको विनाशकारी बाढीले सडक तथा पुलहरूमा गम्भीर क्षति पुर्याएपछि त्रिशूलीपारिका बाढीपीडित नागरिकहरू आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका छन्। बाढीका कारण आवतजावतका सम्पूर्ण संरचनाहरू भत्किएसँगै यस क्षेत्रको जनजीवन अत्यन्तै कष्टकर बनेको छ भने यातायात ठप्प हुँदा त्रिशूलीपारिका बस्तीहरू कर्णाली जस्तै दुर्गम र राज्यको पहुँचभन्दा टाढा बन्न पुगेका छन्। दैनिक उपभोग्य वस्तुको खरिद, विद्यालय जाने विद्यार्थीहरूको पढाइ र सामान्य मजदुरीदेखि लिएर आकस्मिक रूपमा बिरामी पर्दा अस्पतालसम्म पुर्याउन समेत कठिनाइ भएर उपचार सेवा पूर्ण रूपमा प्रभावित भएपछि स्थानीयवासीले तत्काल पुल निर्माण तथा सुरक्षित आवागमनको वैकल्पिक व्यवस्था गर्न माग गर्दै दबाबमूलक आन्दोलन थालेका हुन्।
आन्दोलनमा सहभागी स्थानीयवासीहरूले वर्षौँदेखि प्रयोग गर्दै आएको आवागमनको एक मात्र भरपर्दो आधार नै बाढीले भत्काइदिएपछि राज्यले तत्कालै यसको वैकल्पिक निकास खोज्नुपर्ने बताएका छन्। उनीहरूले स्थायी पुल निर्माणको कानुनी र प्राविधिक प्रक्रिया तत्काल अघि बढाउन, अस्थायी रूपमा तत्कालै सुरक्षित रूपमा आवतजावत गर्ने वातावरण मिलाउन तथा बाढीबाट क्षतिग्रस्त बनेका सडक र अन्य पूर्वाधारहरूको पुनर्निर्माण तीव्र गतिमा अगाडि बढाउन सरकारसँग कडा माग राखेका छन्। स्थानीयका अनुसार पुल नहुँदा सबैभन्दा बढी मारमा विद्यार्थी, किसान, मजदुर, साना व्यवसायी तथा आकस्मिक उपचारको पर्खाइमा रहेका बिरामीहरू परेका छन्, जसले गर्दा त्रिशूलीपारिका नागरिकहरूमा राज्यले आफूहरूलाई उपेक्षा गरेको गम्भीर अनुभूति हुन थालेको छ।
आन्दोलनकारीहरूले आफ्ना यी जायज मागहरू समयमै सम्बोधन नभएसम्म विभिन्न चरणका दबाबमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने चेतावनी दिएका छन्। राहतका नाममा आउने केही दिनको खाद्यान्नले मात्रै दीर्घकालीन समस्या समाधान नहुने भन्दै उनीहरूले आफूहरूलाई राहत मात्र नभई आवतजावतको स्थायी आधार चाहिएको र त्यसका लागि तत्काल पुल निर्माणको काम सुरु गरिनुपर्ने एक सूत्रीय अडान राखेका छन्। बाढीपीडितको यो आन्दोलनले स्थानीय प्रशासन र सम्बन्धित सरकारी निकायलाई तत्काल कदम चाल्न ठूलो दबाब सिर्जना गरेको छ।













प्रतिक्रिया दिनुहोस्