भोटेकोसी–त्रिशूली बाढीपीडितलाई ग्यास सिलिन्डरसहित भान्साका सामग्री वितरण,

विदुर, नुवाकोट।
गत भदौ १० गते आएको विनाशकारी भोटेकोसी–त्रिशूली बाढी (हिमालयन विपत्ति) का कारण विस्थापित भएका नागरिकहरूलाई राहत स्वरूप पूर्ण सेट भान्साका सामग्री वितरण गरिएको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ र ९ मा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्दै आएका ३०० बाढीपीडित परिवारलाई उक्त राहत सामग्री प्रदान गरिएको हो।

राहत सामग्री अन्तर्गत पीडित परिवारहरूलाई खाना पकाउन सहज होस् भनी ग्याससहितको सिलिन्डर, चुलो, प्रेसर कुकर, कराई, थाल लगायतका सामग्री समावेश गरिएको ३०० सेट किचन सामाग्री वितरण गरिएको छ।

उक्त राहत कार्य पूर्वमन्त्री हितबहादुर तामाङको विशेष संयोजन तथा विदुर नगरपालिका वडा नम्बर ९ को सिफारिसमा सम्पन्न भएको हो। यस मानवीय कार्यमा सुनापति भ्वासा च्यारिटी मेडिकल प्रालिले स्थानीय रूपमा समन्वय गरेको थियो भने अन्तर्राष्ट्रिय संस्था Together with the world ले आर्थिक तथा प्राविधिक लगानी गरेको हो ।

बाढीका कारण आफ्नो थातथलो र जायजेथा गुमाएर कष्टकर जीवन बिताइरहेका नागरिकहरूलाई दैनिक गुजारा चलाउन सहज होस् भन्ने उद्देश्यले यो सहयोग गरिएको पूर्वमन्त्री तामाङले बताउनुभयो। विपद्को यस्तो कठिन घडीमा अत्यावश्यक भान्साका सामग्री प्राप्त गरेपछि बाढीपीडित परिवारहरूले ठूलो राहत महसुस गर्दै खुसी व्यक्त गरेका छन्।




















प्रतिक्रिया दिनुहोस्