१ आश्विन २०८३, बिहीबार
Logo

प्राकृतिक विपत्तिमा मातृभूमिलाई मलमः एनआरएनए युगान्डाद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई ३६ लाख बराबरको राहत सामग्री वितरण

बिदुर, नुवाकोट गत भाद्र १० गतेको विनाशकारी बाढीका कारण घरबास गुमाएका रसुवा र नुवाकोटका पीडित परिवारहरूका लागि गैर आवासीय नेपाली सङ्घ ( एनआरएनए ) युगान्डा साहारा बनेर उभिएको छ।

‘दुःखमा मातृभूमिलाई सम्झिने’ प्रवासमा रहेका नेपालीहरूको भावनालाई साकार पार्दै एनआरएनए युगान्डाले पीडितहरूका लागि अस्थायी आवास र खाना पकाउने ग्याससहितका अत्यावश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ । संस्थाले कुल ३६ लाख रुपैयाँ बराबरको राहत सामग्री बाढी प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारहरूलाई प्रत्यक्ष हस्तान्तरण गरेको हो ।

उत्तरगया र देवीघाटका पीडितलाई राहतको ओत र चुलो विनाशकारी बाढीले सबैभन्दा बढी क्षति पु¥याएको रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाका बाढी पीडित र परिवार गुमाएकाहरूका लागि संस्थाले ४० थान अस्थायी आवास टेन्ट, ४० थान भरि ग्यास सिलिन्डर, ग्यास चुलो, पाइप र रेगुलेटर प्रदान गरेको छ ।

त्यसैगरी, नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ५ देवीघाट क्षेत्रका विस्थापित नागरिकहरूलाई पनि राहत सामग्री वितरण गरिएको छ। एनआरएनए युगान्डाका तर्फबाट समग्रमा ३०० थान भरि ग्यास सिलिन्डर, चुलो, रेगुलेटर, पाइप तथा अस्थायी आवासका लागि ४० थान टेन्ट वितरण गरिएको अध्यक्ष रमा अर्यालले जानकारी दिनुभयो । युगान्डामा बसोबास गर्ने नेपालीहरूको आर्थिक सहयोगमा सञ्चालित यस मानवीय अभियानलाई सफल पार्न समाजसेवी पूर्णिमा अर्यालले विशेष पहल गर्नुभएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

सामग्रीहरूलाई लक्षित वर्ग र वास्तविक पीडितसम्म पु¥याउनका लागि बिदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले स्थानीय स्तरमा समन्वय गर्नुभएको थियो। राहत वितरण गर्दै एनआरएनएका उपाध्यक्षले भन्नुभयो, “मातृभूमि विपदको घडीमा हुँदा प्रवासमा बस्ने नेपालीहरूको मन रुन्छ । युगान्डामा पसिना बगाएर बस्ने दाजुभाइ दिदीबहिनीहरूले देश दुख्दा गरेको सानो सहयोग लिएर हामी पीडितको आँगनमा आइपुगेका हौँ।“

बजारमा ग्यासको चरम अभाव भइरहेको कठिन समयमा पनि भरिएको ग्यास सिलिन्डर, चुलो र बस्नका लागि टेन्ट पाएपछि उत्तरगया र देवीघाटका नागरिकहरू भावुक बनेका छन् । दुःखको घडीमा सबैभन्दा सहयोग लिएर आइपुगेकोमा उनीहरूले एनआरएनए युगान्डा र सम्पूर्ण सहयोगी दाताहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्