बाढी प्रभावितका लागि वाईसिएल नेपालको १ हजार अस्थायी आवास अभियान सुरु

नुवाकोट । बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि वाईसिएल नेपालले १ हजार अस्थायी आवास निर्माण गर्ने अभियान सुरु गरेको छ।

अभियानको सुरुवात नुवाकोटको बेलकोटबाट गरिएको हो। पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष क. प्रचण्डले जस्तापाता, ट्रससहित आवश्यक निर्माण सामग्री हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो।

बाढी तथा पहिरोका कारण घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत वाईसिएल नेपालका युवाहरू श्रमदानमार्फत अस्थायी आवास निर्माणमा जुट्नेछन्।

यसअघि पनि वाईसिएल नेपालले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा, सोलार, टेन्टलगायतका राहत सामग्री हस्तान्तरण गर्दै आएको जनाएको छ।

त्यसैगरी, बाढीपछि पुरिएका सुनचाँदी, गरगहना तथा अन्य बहुमूल्य सामग्री उत्खनन गरी सम्बन्धित घरधनीलाई जिम्मा लगाउने कामसमेत वाईसिएलका स्वयंसेवकहरूले गरिरहेका छन्। बाढीले क्षति पुर्याएका भौतिक संरचनाका भग्नावशेष हटाउने तथा प्रभावित बस्तीहरू सफा गर्ने काममा समेत वाईसिएल नेपाल सक्रिय रहेको छ।

विपद्का बेला राहत वितरणमा मात्र सीमित नभई प्रभावित परिवारको पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइएको वाईसिएल नेपालले जनाएको छ।

बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल सुरक्षित आवासको आवश्यकता रहेको अवस्थामा सुरु गरिएको १ हजार अस्थायी आवास निर्माण अभियानले प्रभावित क्षेत्रमा राहत पुग्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्