भोटेकोशी बाढी पीडितलाई विदुर नगरपालिकाले घरभाडा र खाद्यान्न सहयोग गर्ने,

विदुर, नुवाकोट
विदुर नगरपालिकाले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण विस्थापित भएका नगरवासीहरूका लागि विभिन्न राहत र व्यवस्थापनका निर्णयहरू सार्वजनिक गरेको छ। नगरपालिकाको १३४ औँ बैठकले बाढी पीडितको तत्काल व्यवस्थापन तथा पुनर्स्थापनाका लागि महत्वपूर्ण निर्णयहरू गरेको हो।
नगरपालिकाले सार्वजनिक गरेको निर्णय अनुसार विदुर नगरपालिकाभित्र बस्न योग्य घर नभएका बाढी पीडित परिवारलाई घर भाडामा लिएर बस्नका लागि तत्कालका लागि प्रतिपरिवार रु. १०,००० (अक्षरेपि दश हजार मात्र) का दरले घरभाडा रकम उपलब्ध गराउने भएको छ। यसका साथै विस्थापित परिवारहरूलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, किचन सेट र हाइजिन सेट लगायतका अत्यावश्यक सामग्रीहरू समेत नगरपालिकाले उपलब्ध गराउने निर्णय गरेको छ।
बाढीको बहाना बनाएर कोठा भाडामा लिँदा वा दिँदा प्रचलित दरभन्दा बढी रकम असुल गरेमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत नगरपालिकाले दिएको छ। पीडितहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि तीनै तहको सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्था र दाताहरूको सहकार्यमा अस्थायी आवास निर्माण गरी पुनः स्थापना गरिने पत्रमा उल्लेख छ।
यसैगरी, बाढीका कारण प्रभावित बनेको शैक्षिक क्षेत्रलाई सूचारु गर्न नगरपालिकाले असोज २४ गतेदेखि अस्थायी आवास केन्द्र (Holding Center) भएका बाहेकका अन्य विद्यालयहरूमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। हाल होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूलाई भने केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी सञ्चालनमा ल्याइने जानकारी दिइएको छ।
विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा रहेका अन्य जिल्ला तथा पालिकाका भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई व्यवस्थापन गर्नका लागि सम्बन्धित जिल्ला र पालिकालाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ। नगर कार्यपालिकाका अधिकृत छैटौँ रण बहादुर थापा मगरद्वारा जारी गरिएको पत्रमार्फत यी निर्णयहरू कार्यान्वयनका लागि सार्वजनिक गरिएको हो।













प्रतिक्रिया दिनुहोस्