सूर्यगढीमा पहिरोको वितण्डा : तीन ठाउँमा सडक अवरुद्ध, करिब एक हजार घरधुरी प्रभावित

नुवाकोट ! नुवाकोटको सूर्यगढी गाउँपालिकाको नुवाकोट–उर्लेनी सडकखण्डका विभिन्न स्थानमा ठूलो पहिरो गएपछि स्थानीयको जनजीवन प्रभावित भएको छ। रातमाटे डाँडा, फरपूर र राम्चेमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सूर्यगढी गाउँपालिकासहित तादी गाउँपालिकाको माथिल्लो भेग उर्लेनी र छिमेकी जिल्ला रसुवाको नौकुण्ड गाउँपालिकाका नागरिक प्रभावित भएका छन्।
पहिरोका कारण तीनवटै पालिकाका गरी करिब एक हजार घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएको जनाइएको छ। सडक अवरुद्ध भएपछि स्थानीयलाई दैनिक आवतजावत, स्वास्थ्य सेवा तथा अत्यावश्यक कामका लागि समेत समस्या भएको छ।
लगातार पहिरो खस्दा सडक खुलाउन कठिन
सडक खुलाउन गाउँपालिकाले पटक–पटक प्रयास गरे पनि माथिबाट निरन्तर पहिरो खसिरहेकाले काम अघि बढाउन समस्या भएको सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले बताउनुभयो।
उहाँका अनुसार राम्चे को पहिरो हटाउन बुधबार दिउँसो, बिहीबार दिउँसो र शुक्रबार बिहान पहिरो पन्छाउने प्रयास गरिएको थियो। तर माथिल्लो भागबाट माटो, ढुङ्गा तथा पहिरो निरन्तर खसिरहेकाले सुरक्षाका कारण काम रोक्नुपर्ने अवस्था आएको हो।
अध्यक्ष घलेले पहिरो रोकिएपछि मात्रै सडक सफा गर्ने काम प्रभावकारी रूपमा अघि बढाउन सकिने बताउँदै सडक सञ्चालनमा आउन केही समय लाग्न सक्ने जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रका नागरिकलाई धैर्य धारण गर्न र सम्भव भएसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गर्नुभएको छ।
फरपुरका पाँच घरपरिवार सुरक्षित स्थानमा सारिए
पहिरोको जोखिम बढेपछि फरपूरका पाँच घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। त्यहाँ पहिरोको माथिल्लो भागमा दुईवटा ठूला ढुङ्गा जोखिमपूर्ण अवस्थामा रहेकाले तत्काल जोखिम नहटेसम्म स्थानीयलाई सुरक्षित स्थानमै बस्न आग्रह गरिएको अध्यक्ष घलेले बताउनुभयो।
ती ठूला ढुङ्गा हटाउने तथा व्यवस्थापन गर्ने विषयमा जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल भइसकेको उहाँले जानकारी दिनुभयो।
गाउँपालिकाले जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई आफ्नो जिउधनको सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेको छ। पहिरो गएको सडकमा सवारीसाधन लिएर वा पैदल यात्रा नगर्न, अनावश्यक रूपमा प्रभावित क्षेत्रमा नजान तथा विपद्को समयमा एक–अर्कालाई सहयोग गर्न पनि अपिल गरिएको छ।
उद्धार टोली, एम्बुलेन्स र स्काभेटर तयारी अवस्थामा
विपद्को सम्भावित अवस्थालाई ध्यानमा राख्दै सूर्यगढी गाउँपालिकाले उद्धार टोली, एम्बुलेन्स तथा सडक खुलाउन स्काभेटर तयारी अवस्थामा राखेको जनाएको छ।
सडक सफा गरी आवतजावत सहज बनाउन गाउँपालिकाले पूर्वाधार विकास कार्यालय नुवाकोटसँग समन्वय गरिरहेको छ। गाउँपालिकाको पहल तथा पूर्वाधार विकास कार्यालयको प्राविधिक र आर्थिक सहयोगमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष घलेले बताउनुभयो।
उहाँले कुनै विपद्जन्य घटना भए तत्काल गाउँपालिकालाई जानकारी गराउन तथा जोखिमपूर्ण अवस्थामा पालिकासँग समन्वय गरेर अघि बढ्न नागरिकलाई आग्रह गर्नुभएको छ।
सडक विस्तारसँगै बढ्यो पहिरोको जोखिम
सूर्यगढी क्षेत्रमा सडक स्तरोन्नति तथा नयाँ सडक विस्तारका क्रममा पहिरोको जोखिम बढेको गाउँपालिकाको भनाइ छ। पछिल्लो पहिरोबाट मानवीय क्षति नभए पनि केही बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ भने सडक तथा उत्पादनयोग्य जमिनमा समेत क्षति पुगेको जनाइएको छ।
अध्यक्ष घलेले विपद् हुनुअघि नै जोखिमप्रति सचेत रहन नागरिकलाई आग्रह गर्नुभएको छ। उहाँले जोखिमपूर्ण स्थानमा अनावश्यक आवतजावत नगर्न, पहिरोको अवस्था बुझेर मात्र यात्रा गर्न तथा विपद्को समयमा छरछिमेकमा समेत सहयोग र सद्भाव कायम राख्न अनुरोध गर्नुभएको छ।
राम्चेको पहिरोले ड्वाचे खानेपानी आयोजना पनि प्रभावित
यसैबीच, राम्चेमा गएको पहिरोका कारण ड्वाचे खानेपानी आयोजना समेत प्रभावित भएको छ। पहिरोले ठाउँ–ठाउँमा खानेपानीका पाइप पुरिनुका साथै लाइन छुट्दा सूर्यगढी गाउँपालिका र विदुर नगरपालिकाभित्रका करिब १५० घरधुरी खानेपानी सेवाबाट प्रभावित भएका छन्।
पालिकाको अनुसार खानेपानी सेवा पुनः सञ्चालन गर्न स्थानीय खानेपानी उपभोक्ता समिति, गाउँपालिका र आयोजनाको त्रिपक्षीय सहमतिमा छिट्टै मर्मतको काम अगाडि बढाइने छ। अध्यक्ष घलेले पहिरोबाट क्षतिग्रस्त संरचना तथा पाइपलाइनको मर्मत गरी छिट्टै खानेपानी सेवा नियमित बनाइने बताउनुभएको छ।
लगातार पहिरो खसिरहेको अवस्थामा सडक तथा खानेपानीजस्ता अत्यावश्यक पूर्वाधार प्रभावित भएकाले नागरिकलाई संयमित रहन र सुरक्षित स्थानमा बस्न गाउँपालिकाले आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्