मल अभावले बेलकोटगढी–का किसान मर्कामा , दिनभर लाइन बसेर निरास हुदै घर

बेलकोटगढी, श्रावण १६ — बेलकोटगढी नगरपालिका–१० का किसानहरू रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लामो समय लाइनमा बसेका किसानले अन्ततः आवश्यकताको तुलनामा अत्यन्तै न्यून परिमाणमा मात्र मल प्राप्त गरेका छन्।
वितरणका क्रममा अधिकांश किसानलाई प्रतिव्यक्ति ८ किलो डीएपी र १० किलो युरिया मात्र उपलब्ध गराइएको स्थानिय किसान किशोर वली ले जालपा न्यूजलाई जानकारी दिनु भयो । किसानका अनुसार यो परिमाण अदुवा र धान खेतीका लागि पर्याप्त छैन।
बेलकोटगढी–१० मा अदुवा प्रमुख नगदे बालीका रूपमा उत्पादन हुने गर्दछ । अदुवा खेतीका लागि अहिले कम्तीमा दुई बोरा डीएपी मल आवश्यक पर्ने किसानको भनाइ छ। यस्तै, धानबालीमा मल हाल्ने महत्वपूर्ण समय भएकाले एक बोरा डीएपी र एक बोरा युरिया आवश्यक पर्ने अवस्थामा न्यून परिमाणमा मल वितरण हुँदा किसान चिन्तित बनेका छन्।
दिनभर लाइनमा बसेर पनि पर्याप्त मल नपाउँदा किसानले समय, श्रम र आर्थिक रूपमा ठूलो सास्ती बेहोर्नुपरेको बताएका छन् । समयमै पर्याप्त मल उपलब्ध नभए अदुवा र धानको उत्पादनमा प्रत्यक्ष असर पर्ने तथा त्यसले किसानको आम्दानीसँगै स्थानीय खाद्य सुरक्षामा समेत नकारात्मक प्रभाव पार्ने उनीहरूको गुनासो छ ।
किसानहरूले सम्बन्धित निकायसँग आवश्यकताको आधारमा पर्याप्त रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न माग गरेका छन् । उनीहरूको भनाइमा कृषि विकासका नारा मात्र होइन, उत्पादनको समयमा किसानलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउनु नै वास्तविक कृषि नीति र प्रतिबद्धताको प्रमाण हुनेछ ।













प्रतिक्रिया दिनुहोस्