तारकेश्वर गाउँपालिकामा लम्पी स्किन पिडितलाई वडाको दश हजार
लम्पी स्किन रोगबाट गाईगोरु मरेका कृषकलाई वडाले दश हजारको दरले राहत बितरण गरेको छ ।
नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं ६ ले लम्पी स्किनका कारण गाईगोरु मरेका कृषकहरुको विवरण संकलन गरि प्रत्येक पिडित कृषकलाई राहत स्वरुप दश हजार उपलब्ध गराएको हो । वडा बिपद कोषमा रहेको रकम आपतकालीन अबस्थाको लागि राखिएको र बर्खाको समयमा खेत जोत्ने गोरु मरे पछि कृषकहरुलाई थोरै भए पनि राहत महसुुस गराउन पैसा बितरण गरेको अध्यक्ष नारायण रिमालले बताउनु भयो ।
उसो त तारकेश्वर गाउपालिका भरी नै अधिकांस गाई गोरु लम्पी स्किनको समस्याले ग्रसित छन । रोपाइ गर्ने सिजनमा बर्ष भरी स्याहार गरेर राखेको गोरु मर्दा र जित्न नसक्ने गरि बिरामी हुदा कृषहरु मारमा छन ।
गाउँमा धेरै गोरु मरेको र भएको गोरुले नि जोत्न सक्ने अबस्थामा नभएकोले रोपाइ कसरी गर्ने भन्ने कृषकलाई चिन्ताको बिषय बनेको छ ।
तारकेश्वर गाउँपालिका वडा नं १ खहरे भोर्लेनीका कृषक सिंह बहादुर तामाङले भन्नुभयो “गोठमा गोरु बिरामी छ, छिमेकी चतुरमान तामाङको गोरु मर्यो ,मेरो गोरु नि मर्नु न बाच्नु छ । खल्तीमा ट्याक्टर किन्ने पैसा छैन ,गोठमा गोरु बिरामी छ, किसान जहिले मर्कामा । पालिकाले फारम भराएर नी अनुदानको ट्याक्टर दिएन उहाँले गुनासो गर्नु भयो ।
नेपाल सरकारले कृषकहरुको सहजताको लागी ८० प्रतिशत अनुदानमा पशुबिमा कार्यक्रमको निती लागु गरेकोे छ । तर अधिकांस कृषकलाई बिमा सम्बन्धि जानकारी छैन ।
तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद रिमालले सबै भन्दा नजिकको वडा सरकार र पालिका सरकारले आफ्ना नागरिकहरुलाई सुचित गराउन नसक्नु स्थानिय सरकारको कमजोरी रेहको बताउदै आउदो आर्थिक बर्षमा पशुबिमा सम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन र कृषकले थप गर्नु पर्ने २० प्रतिशत रकम पनि अनुदानमा पालिकाले बेहोर्ने गरेर कार्यक्रम ल्याउन कार्यपालिकामा प्रस्ताब गर्ने बताउनु भयो ।
नुवाकोटको लिखु गाउँपालिकाले कृषकले तिर्नु पर्ने २० प्रतिशत रकममा पनि १० प्रतिशत अनुदान दिएको छ ,भने बिदुर नगरपालिकाले बिमा प्रदायक कम्पनी सङ्ग सम्झौता गरेर कार्यन्वयनको अन्तिम चरणमा पुगेको छ ।
हाल लम्पी स्किन रोगको प्रकोप बडे सङ्गै बिमा कम्पनीहरुले बिमा गर्नेकाम रोकेका छन । बिमा नवीकरण गर्ने काम भने भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्