९ माघ २०८१, बुधबार
Logo

दुप्चेश्वर ४ को महत्वपुर्ण निर्णय, निर्णय नमाने वडाबाट पाइने सेवा कटौती गरिने

नुवाकोटको दुप्चेश्वर गाउँपालिका ४ नम्बर वडा कार्यलयले बुधबार वडाको बैठक बसि १ सय दिनको समिक्षा गर्दै महत्त्वपूर्ण निर्णय गरेको वडा अध्यक्ष ज्ञान बहादुर तामाङले बताउनुभएको छ ।
उहाँका अनुसार वडा भित्र जुवा तास खेल्न प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक स्थानमा बसेर मदिरा सेवन गर्न नपाइने निर्णय भएको छ । वडा कार्यलयको निर्णय नमानेमा वडाबाट प्रवाह गरिने सेवामा कटौती गरिने बताइएको छ । त्यसैगरी पुरगाउँको स्वास्थ चौकिलाई बर्थिङ सेन्टरको रुपमा बिकास गर्न पहल गरिने, गोल्फुभंज्याङ माध्यमिक विद्यालयमा १२ कक्षा सम्म संचालन गर्ने, अर्जुन आधारभूत बिद्यालयलाई माध्यमिक तह सम्म संचालन गर्ने, वडा भित्र संचालनमा रहेका बिद्यालयहरुमा तामाङ भाषामा पठनपाठन गर्न पहल गर्ने साथै आफ्ना बालबालिका हरुलाई अनिवार्य रुपमा बिद्याालयमा पठाउन आग्रह गरिएको छ ।
बुधबार भएको निर्णय अनुसार वडामा उत्पादन भएका कृषी उपजहरु बजारीकरण गर्न सहजीकरण गर्नुका साथै कृषकहरुलाई नगदेबालिको खेती गर्न वडा कार्यलयले प्रोत्साहन गर्ने निर्णय भएको वडा अध्यक्ष तामाङले बताउनु भयो । त्यसैगरी वडा भित्र मृत्यु भएकाहरुको मृत्यु संस्कार गर्दा ३÷४ दिन लगाएर गरिने भएको हुँदा २ दिनमा गरिसक्न नागरिकलाई आग्रह गरिएको अध्यक्ष तामाङले बताउनु भयो । वडा भित्र सेवा प्रवाहलाई छिटो छरितो रुपमा प्रवाह गर्न प्रविधी मैत्री बनाउन शहजीकरण गरिने बताउनु भयो । गत महिनामा अविरल बर्षा पछि आएको पहिरोले वडाका ५० घरधुरी बिस्थापित भएका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अबस्था रहेको उहाँले बताउनु भयो ।
अविरल बर्षा संगै आएको पहिरोका कारण वडा भित्र धारापानी टोलमा २० घर, कान्दन टोलमा ८ घर, हाँडिखोला टोलमा ६ घर, ढोकेनी टोलमा ७ घर, सापु टोलमा ३ घर, सानो गोल्फुमा २ घर हिले र पारगाउँमा १÷१ घर गरि ५० घर परिवारलाई सुरक्षीत स्थानमा स्थानान्तरण गर्न पहल गर्ने निर्णय भएको वडा अध्यक्ष तामाङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्