१२ श्रावण २०८१, शनिबार
Logo

सर्वदलीय बैठकमा कांग्रेसले भन्यो– ‘एमसीसी पास गरौँ’, माओवादीकाे विराेध

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विषयलाई लिएर दलहरूबीच विवाद भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र शीर्ष नेता सहभागी थिए । बैठकको सुरुमै प्रधानमन्त्री देउवाले साना दललाई आफ्ना भनाइ राख्न अनुरोध गर्नुभएको थियो । त्यसपछि नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने विचार राखेका थिए । नेमकिपाका सांसद प्रेम सुवालले एमसीसीको बारेमा आफ्नो पहिलेकै अडान दोहोर्‍याउँदै पास गर्नै नहुने बताउनुभएको थियो ।

त्यसपछि बोल्नुभएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यो विषयलाई संसदमा निर्णयका लागि पेस गरेपछि मात्रै आफूहरूले निर्णय गर्ने बताउनुभयो ।

एमसीसीको विषयमा साना दल मात्रै बोल्ने तर ठूला दल नबोलेर उम्किन खोजेको भन्दै नेमकिपाका सांसद प्रेम सुवालले नै प्रधानमन्त्रीलाई आग्रह गरेर ठूला दलका नेतालाई बोल्न लगाउन भन्नुभएको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग फिर्ता पठाउने पक्षमा आफू नरहेको तर एमसीसी सम्झौतामा भएका कतिपय प्रावधानलाई संशोधन गर्नुपर्ने बताउनुभयो । प्रचण्डले सम्झौता रद्द गर्दा र फिर्ता पठाउँदा नेपालको छवि बिग्रने भन्दै संशोधन गर्नुपर्ने बताउनुभएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

यस्तै नेकपा एकीकृत समाजवादी (एस) पार्टीका नेता वेदुराम भुसालले पनि संशोधनविना एमसीसी पास हुनै नसक्ने बताउनुभएको थियो । बैठकमा जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एमसीसी नेपालको हितमा रहेकाले संसदबाट पारित गराउनुपर्ने बताउनुभएको थियो ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अब निर्णयार्थ संसदमा पेस गर्नुपर्ने र ‘जे गर्नुपर्ने हो त्यहीँ गरौँला’ भनेपछि माओवादीका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाउनुभएको थियो । सत्ता गठबन्धनमा सहमति नजुटाइकन एमसीसी संसदमा निर्णयार्थ पेस गर्नै नहुने श्रेष्ठको भनाइ थियो ।

बैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र डा. रामशरण महतले पनि एमसीसी तत्काल पारित गर्नुपर्ने बताउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्