नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाण्डाै आउने क्रम बढ्दो

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाण्डाै जम्मा हुन सुरु भएको छ । पार्टीको १३ औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४ औँ महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाण्डाैमा भेला हुने क्रम सुरु भएको हो । यही मङ्सिर २४ देखि २६ गतेसम्म कांग्रेसको १४ औँ महाधिवेशन हुँदैछ ।
कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएसँगै चार दिनपछि सुरु केन्द्रीय महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाण्डाै आउने क्रम सुरु भएको हो । कांग्रेसले १४ औँ महाधिवेशनका लागि आएका प्रतिनिधि बस्नका लागि गौशाला, ठमेल, सुन्धारालगायतका ठाउँमा होटल बुकिङ गरिसकेको बताएको छ ।
देश सङ्घीयतामा गएपछि कांग्रेसले पहिलो पटक वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न लागेको हो । कांग्रेसको सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुनमगर, कर्णाली प्रदेशमा ललितजङ्ग शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित हुनुभएको छ ।
यस्तै ६० भन्दा बढी जिल्लाको अधिवेशनसमेत सम्पन्न भइसकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे भोलि मङ्गलवारसम्म सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने बताउनुहुन्छ । ‘हिजोसम्म विवाद रहेका सर्लाहीका चार र महोत्तरीको एक निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिले काम गरिरहेको छ’, उहाँ भन्नुहुन्छ ।
कांग्रेसको महाधिवेशनमा चार हजार सात सय हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिने संयोजक घिमिरेले बताउनुभयो ।
जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो । त्यस सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रूपमा लिइन्छ ।
प्रतिक्रिया दिनुहोस्