१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

नेकपा एमाले विभाजन गरी वरिष्ठ नेता माधव नेपाल पक्षले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । वरिष्ठ नेता माधव नेपालसहितका नेताहरू बुधवार कान्तिपथमा रहेकाे निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन दिएका हुन् । 

पार्टी एकताका लागि पटक–पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएपछि ५८ जना केन्द्रीय सदस्यको उपस्थितिमा नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) नाम गरेको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको नेता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले एमालेमा अलमल गरेर बसेका अन्य नेता, कार्यकर्तालाई नयाँ पार्टीमा आउन पनि आह्वान गर्नुभयो ।

नेता पाण्डेले भन्नुभयो, ‘राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भइसकेपछि नेकपा एमालेका हामी ५८ जना केन्द्रीय सदस्य उपस्थित भएर बैठक बस्यौँ र नयाँ दल दर्ताकाे निर्णय गर्‍याैँ । नेकपा एमालेभित्र केपी शर्मा ओलीकाे व्यवहार, संसद्लाई पटक–पटक भङ्ग गर्ने र त्यो भङ्ग गरेको कुरालाई गलत नठान्ने, संसद्को रक्षा र संविधानको रक्षाका निम्ति पटक–पटक आवाज उठायौँ । प्रयत्न गर्‍याैँ तर त्यो कतैबाट पनि सम्भव नहुने स्थिति बनेपछि आज हामीले नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन दिएका छौँ ।’

नवगठित यस दलको अध्यक्ष माधवकुमार नेपाल रहनुभएको छ भने वरिष्ठ नेता झलनाथ खनाल रहनुभएको छ । ९५ सदस्यीय केन्द्रीय समिति रहेको यस दलको चुनाव चिह्न भने थप छलफल गरेर मात्रै टुङ्गो लगाउने निर्णय गरिएको पनि पार्टीका नेता पाण्डेले बताउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

नवगठित नेकपा एमाले (समाजवादी) पार्टीले दल दर्ताको प्रमाण पत्र निर्वाचन आयोगबाट प्राप्त भएपछि पार्टीको राष्ट्रिय भेला बोलाइ आफ्ना कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्