१२ श्रावण २०८१, शनिबार
Logo

विद्युत उत्पादन देखि वितरण सम्म अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोग गरिने छ- निर्देशक घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोग गरिने बताउनुभएकाे छ । प्राधिकरणको ३६ औँ वार्षिकोत्सवको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले स्वचालित प्रणालीमार्फत सञ्चालन लागत घटाइ ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गरिने बताउनुभयाे । 

विद्युत् माग र खपत वृद्धिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएको उल्लेख गर्दै घिसिङले यस्ता कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो ।  

‘माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायतका आयोजनाबाट उत्पादित विद्युत् बेच्नका लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको छ, उत्पादित विद्युतको स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत् अन्तरदेशीय बजारमा बेच्न आवश्यक प्रबन्ध मिलाइने छ’, उहाँले भन्नुभयो, ‘स्वदेशमै विद्युत खपत बढाउन सके उत्पादित विद्युतको उपयोग मात्र हुने नभइ देशको आर्थिक र सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पर्छ, त्यसैले विद्युत् खपत वृद्धिकाे पूर्वाधार निर्माण, ग्रामीण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महसुलमा पुनरावलोकन, विद्युतीय सवारी साधनको प्रयोग र विद्युतीय चुलोको उपयोग गर्न र त्यसअनुसार जनचेतना अभिवृद्धि गर्ने समेतका काम प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।’

संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै उपभोक्तालाई उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित सुदृढ र सबल प्राधिकरणको निर्माण गर्न सम्पूर्ण प्रयास केन्द्रित गर्ने 
कार्यकारी निर्देशक घिसिङले प्रतिबद्धता जनाउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्यान) का अध्यक्ष कृष्ण आचार्यले विद्युत् खपत बढाउने बृहत् कार्यक्रममा कार्यान्वयन गर्न, प्रसारण लाइनको निर्माणलाई तीव्रता दिन सुझाव दिनुभयो ।

प्राधिकरणको सञ्चालन उपलब्धि, ९० प्रतिशत जनसङ्ख्या ग्रिडको पहुँचमा

विगतमा जस्तै गएकाे वर्ष पनि विद्युत् खपत गर्ने ग्राहकको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गएकाे वर्ष सात दशमलव ३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भइ ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ । सामुदायिक संस्थातर्फका पाँच लाख ५० हजार ग्राहकसहित विद्युत् उपभोग गर्ने कुल ग्राहकको सङ्ख्या ५० लाख ८० हजार पुगेको छ । समग्रमा अहिलेसम्म कुल ९० प्रतिशत देशको जनसङ्ख्यामा आधारभूत रूपमा ग्रिडको पहुँचसहितको विद्युत् पुगेको छ । प्राधिकरणले कोरोना महामारीका बाबजुद आर्थिक वर्ष २०७७/०७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूत रूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको छ । कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पुर्‍यायएकाे छ ।

प्राधिकरणको उत्पादन घट्यो, भारतबाट आयात बढ्यो

आव २०७७/०७८ मा प्राधिकरणका जलविद्युत् गृहबाट कुल दुई अर्ब ८१ करोड युनिट विद्युत् उत्पादन भयो । यो आव २०७६/०७७ को उत्पादन तीन अर्ब दुई करोड युनिटको तुलनामा ६ दशमलव ९६ प्रतिशतले घटी हो । आव २०७६/०७७ मा निजी क्षेत्रका विद्युत् गृहबाट दुई अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गएकाे आवमा ८ दशमलव ३६ प्रतिशतले बढ्न गइ तीन अर्ब २४ करोड युनिट प्राप्त भएको छ ।

यस्तै आव २०७६/०७७ मा भारतबाट एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेका कारणले गएकाे आवमा ६३ दशमलव ४५ प्रतिशत बढी अर्थात् दुई अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको छ । गएका आवमा प्रणालीमा आठ अर्ब ८७ करोड युनिट घण्टा विद्युत् उपलब्ध भयो । याे आव २०७६/०७७ मा सात अर्ब ७४ करोड युनिटको तुलनामा १४ दशमलव ६८ प्रतिशत बढी होे । कुल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युत् गृहको योगदान ३१ दशमलव ६६ प्रतिशत रह्यो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युतको योगदान क्रमशः ३१ दशमलव ८३ प्रतिशत र ३६ दशमलव ५१ प्रतिशत रहेको छ । आव २०७७/०७८ मा कुल विद्युत् खपत सात अर्ब ३१ करोड युनिट रहेको छ । याे आव २०७६/०७७ को ६ अर्ब ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढिरहेको छ ।

विद्युत् चुहावट बढ्यो

आव २०७७/०७८ मा विद्युत् चुहावट १७ दशमलव १८ प्रतिशत रहेको छ । याे आव २०७६/०७७ को तुलनामा एक दशमलव ९१ प्रतिशतले बढी हुन आउँछ । विद्युत् खपतमा भएको वृद्धि, कोभिड–१९ को कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रूपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुन नसकेको लगायतका कारणले चुहावट बढ्न गएको छ ।

नाफा घट्यो

आव २०७७/०७८ मा विद्युत् बिक्रीबाट कुल ७१ अर्ब २८ करोड रुपैयाँ आम्दानी भएको छ । याे आव २०७६/०७७ को ७६ अर्ब ३१ करोड रुपैयाँको तुलनामा ६ दशमलव ५९ प्रतिशतले न्यून रहेको छ ।

आव २०७७/०७८ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको ६१ अर्ब ८७ करोडको तुलनामा १० दशमलव ९६ प्रतिशतले बढेर ६८ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । विद्युत् खरिदबापत आव २०७७/०७८ मा ४१ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ । याे आव २०७६/०७७ को खरिद ३५ अर्ब १२ करोड रुपैयाँभन्दा १८ दशमलव शून्य पाँच प्रतिशतले बढी रहेको छ ।

आव २०७७/०७८ मा प्राधिकरणको अन्य आम्दानीसहितको खुद आम्दानी ८० अर्ब ३५ करोडमा सञ्चालन खर्च ६८ अर्ब ६४ करोड कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा ११ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यो सञ्चालन मुनाफा आव २०७६/०७७ को २३ अर्ब ७४ करोडको तुलनामा ५०.६७ प्रतिशतले घटी हो ।

गएकाे आव मुअकर अघिको मुनाफा ६ अर्ब रहेको छ । याे आव २०७६/०७७ को १३ अर्ब २७ करोड रुपैयाँको तुलनामा ५४ दशमलव ७३ प्रतिशतले कमी हो । साथै आव २०७६/०७७ को कर पछिको खुद मुनाफा ११ अर्ब ६८ करोड रहेकोमा गएकाे आवमा तीन अर्ब ५१ करोड अर्थात् ६९ दशमलव ९४ प्रतिशतले कमी रहेको छ ।

प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८ दशमलव ३४ प्रतिशत रहेको छ । विद्युत विक्रीबापत प्राप्त आम्दानीकोे ५८ दशमलव ८३ प्रतिशत रकम विद्युत् खरिदमा खर्च भएको छ । आव २०७६/०७७ को तुलनामा प्राधिकरणको उत्पादन घटेको र विद्युत् आयात बढ्न गएकाले आव २०७७/०७८ मा विद्युत् खरिदबापतको खर्चमा १८ दशमलव शून्य पाँच प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्