१२ श्रावण २०८१, शनिबार
Logo

आफ्ना नेता–कार्यकर्ताकाे ‘घेराबन्दी’ मा कांग्रेस केन्द्रीय कार्यालय

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता–कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपामा रहेकाे कांग्रेस केन्द्रीय कार्यालय गएकाे एक महिनायता आफ्नै पार्टीका नेता–कार्यकर्ताको घेराबन्दीमा परेको हो । 

३४ दिनयता लगातार क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानबिन गर्न भनिएकाे आफूहरूको माग अझै सम्बोधन नभएकाले पार्टी केन्द्रीय कार्यालयमा सुरु गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनुपरेको नेपाली कांग्रेस बाराका नेता उपेन्द्र यादवले बताउनुभयो । उहाँले आफूहरूलाई न्याय नदिएसम्म जिल्ला नफर्कने चेतावनीसमेत दिनुभयो ।

त्यस्तै ३० दिनयता पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता–कार्यकर्ताले पार्टीको विधि र विधान विपरीत क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरू पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनुपरेको बताएका छन् । जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष रामश्रीष प्रसाद साहले विधि र विधान विपरीत गएर दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म आफूहरूले धर्नासहितको आन्दोलनलाई जारी राख्ने बताउनुभएकाे छ । 

कैलाली क्षेत्र नम्बर १ का कांग्रेस नेता–कार्यकर्ताले पार्टी केन्द्रले आफूहरूको माग सम्बोधन नगरेसम्म धर्नासहितको विरोधका कार्यक्रमलाई निरन्तरता दिने प्रतिक्रिया दिएका छन् । कैलाली क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले क्रियाशील सदस्यता वितरणमा आफूहरूमाथि गरिएको अन्यायको तत्काल सम्बोधन नभइ धर्ना कार्यक्रमलाई अन्त्य गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले पार्टीको जारी केन्द्रीय कार्य समितिले आफूहरूको मागलाई सम्बोधन गर्ने आशा रहेकाे पनि बताउनुभयाे । 

Shivapuri rural municipality awareness message jalapanews

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धमा देखिएको विवादका कारण पार्टीको वडा तहको अधिवेशनसमेत रोकिएको छ । पार्टीको तल्लो तहको अधिवेशन रोकिएपछि आउँदाे भदौ १६–१९ काठमाण्डाैमा हुने १४ औँ महाधिवेशन पछि सार्नुपर्ने अवस्थामा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्