१२ श्रावण २०८१, शनिबार
Logo

अप्ठेरोमा परेका नुवाकोटवासीलाई जिपी कोइराला फाउन्डेसनले नि:शुल्क जिल्ला पठायो

पाँच सातादेखिको लकडाउनका कारण राजधानीमा अड्किएका र दैनिक जीविकोपार्जनमा समस्या खेपिरहेका नुवाकोटवासीलाई घर फर्कन सघाउने उद्देश्यले गिरिजाप्रसाद कोइराला फाउन्डेसन नुवाकोटले काठमाडौंदेखि नुवाकोटका विभिन्न स्थानसम्म नि:शुल्क यातायातको व्यवस्था गरेको छ ।

नेपाली कांग्रेसका युवानेता तथा महासमिति सदस्य रमेशकुमार महतको क्रियाशीलता र जिल्लाका स्थानीय तहहरूसँगको समन्वयमा फाउन्डेसनले सञ्चालन गरेको नि:शुल्क यातायात सेवाअन्तर्गत आज काठमाडौंका बौद्ध, महाराजगन्ज, सामाखुसी, माछापोखरी, नयाँबजार, कलंकी लगायत स्थानबाट झन्डै एक दर्जन बस नुवाकोट पठाइएका छन् । लकडाउनसँगै लामो समय व्यापार, व्यवसाय र रोजगारी बन्द हुँदा काठमाडौंमा अस्थायी बसोवास गरिरहेका हजारौं नुवाकोटवासीको समस्या दिनानुदिन जटिल बन्दै गएको अवस्थालाई मध्यनजर गरी घर फर्किन चाहनेका लागि नि:शुल्क यातायातको व्यवस्था गरिएको कांग्रेस युवानेता रमेशकुमार महतले बताए ।

जनताप्रतिको उत्तरदायित्व वहन गर्ने सन्दर्भमा विगतदेखि नै आफू निरन्तर लागिपरेको स्मरण गर्दै नेता महतले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दायित्व पालनामा नचुक्ने प्रतिबद्धता व्यक्त गरे । फाउन्डेसनका जिल्ला अध्यक्ष रमेशकुमार पाठकले यो विषम परिस्थितिमा जनतालाई राहत दिने कार्यमा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा आफूहरू जिल्लावासीको पीडामा मल्हम लगाउने प्रयासमा जुटेको बताए । मानवसेवाको कार्यमा आफू र संस्था निरन्तर लागिपर्ने उनको संकल्प छ ।

हामीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष पाठकले फाउन्डेसनको अभियानमा नैतिक वा भौतिक साथ/समर्थन दिने सम्पूर्णमा आभार प्रकट गरे । फाउन्डेसनका जिल्ला उपाध्यक्ष शिव अधिकारी अविरलले गिरिजाप्रसाद कोइराला फाउन्डेसनले सबै जिल्ला र स्थानीय तहसम्म फैलिएका समितिहरूमार्फत देशैभर मानवसेवाको अभियान चलाइरहेको भन्दै कठिन घडीमा फाउन्डेसनको क्रियाशीलता अझै बढी रहने बताए । जिल्लावासीको जुनसुकै समस्यामा साथ-सहयोग पुर्याउन आफूहरू अहोरात्र खटिइरहेको स्मरण गर्दै अधिकारीले भविष्यमा पनि नुवाकोटको सेवामा उत्तिकै तदारुकताका साथ लागिरहने अठोट गरे ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्