१२ श्रावण २०८१, शनिबार
Logo

लकडाउनमा पनि गल्छी–त्रिशूली–मैलुङ सडकको काम धमाधम चल्दै

बलराम घिमिरे, रसुवा – लकडाउनमा पनि राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डमा निर्माणको काम भइरहेको छ। सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको हो।

पहिलो खण्डअन्तर्गत गल्छी–त्रिशूली–मैलुङको ५ ठाउँमा काम भइरहेको सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए। सो खण्डमा अहिले पुल निर्माणको काम भइरहेको छ। कालेपत्र गर्नका लागि निर्माण कम्पनीले भारतबाट ल्याएका कामदार लकडाउनपछि घर फर्किएकाले कालोपत्रको काम रोकिएको उनले बताए।

गल्छीको महेश खोला पुल, रसुवा र नुवाकोट जोड्ने फलाखु खोला पुल, चिप्लेटी खोला पुल, मैलुङभन्दा माथि १० मिटर कर्सिङ खोलामा पुल निर्माण र कल्चौडेको भीर काट्ने काम धमाधम भइरहेको छ। महेश खोलामा रहेको पुराने पुल मर्मत गर्ने काम सकेर नयाँ पुलका लागि जग हालिएको छ।

महेश खोलामा १८ जना, फलाखु खोलामा १८, चिप्लेटी पुलमा १५ र १० दश मिटर कर्सिङ पुल १० जना र भीर काट्नेसमेत ९८ जना कामदार परिचालन गरिएको छ। शनिबारदेखि कल्चौडेको भीर काट्न थालिएको भण्डारीले बताए। त्यसका लागि ९ वटा एक्स्काभेटर, एउटा लोडर र ४ वटा टिपर प्रयोग गरिएको छ।कामदारलाई पूर्ण सुरक्षित तरिकाले काममा लगाइको प्रमुख भण्डारीले बताए। ‘मास्क, ग्लोबस, साबुनपानी र सेनिटाइजरको व्यवस्था गरिएको छ,’ उनले भने।

Shivapuri rural municipality awareness message jalapanews

पुल निर्माणको जिम्मा कालिका–टुन्डी–हिदुङ एन्ड थोकर जेभी र सडकको जिम्मा एमएस–कन्भेट–टुन्डी र रसुवा जेभीले पाएको छ।

गल्छीदेखि मैलुङसम्म सडकको लम्बाइ ४६ किमि रहेको छ। पहिलो खण्डमा निर्माण भइरहेको सडकको लागत ३ अर्ब ६३ करोड ९१ लाख १६ हजार ९२४ रुपैयाँको छ। उक्त खण्डमा करिब ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको आयोजनाले बताएको छ। तर लकडाउनका कारण तोकिएकै समयमा निर्माण सम्पन्न नहुने आयोजना प्रमुख भण्डारीले बताए।

दोस्रो खण्ड मैलुङ–स्याफ्रु सडकको पनि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ। चीन सरकारको सहयोगमा निर्माण हुने तेस्रो खण्ड स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नतिका लागि बिजुलीको पोल सार्न र सडक क्षेत्रमा पर्ने अस्थायी तथा स्थायी संरचना हटाउने प्रक्रिया अघि बढाइएको छ।

गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक काठमाडौंलाई चीनसँग जोडने सबैभन्दा छोटो दुरीको सडक हो। रसुवागढीदेखि धादिङको गल्छीसम्मको दुरी करिब ८२ किलोमिटरको हुनेछ। गल्छीबाट काठमाडौंसम्मको दुरी ५० किलोमिटर रहेको छ। सडक पूरा भए काठमाडौंबाट चीनको केरुङ करिब ४ घन्टामा पुग्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्