१२ श्रावण २०८१, शनिबार
Logo

कोरोना भाइरसको उपचार विधि : हल्ला र वास्तविकता

कोभिड नाईन्टिन अर्थात कोरोना भाइरसको जोखिमबाट बचाउने तथा औषधि  हुने भन्दै सामाजिक सञ्जालमा विभिन्न वस्तुको प्रचार भैरहेको छ ।धनगढी नगरपालिकाले त कोरोनाबाट जोगिन बोझो, बेसार र लसुन खान औपचारिक आग्रह नै गर्‍यो ।

तर यस्ता वस्तुले कोरोना रोक्न वा निको पार्न भूमिका निर्वाह गर्ने कुरा कतै पुष्टि भएको छैन । कोरोना भाइरसको सङ्क्रमण रोक्ने वा निको हुने भन्दै गरिएका प्रचारहरुमा सत्यता नभएको एक अध्ययनको निष्कर्ष छ । 

अहिलेसम्म कोरोनाको कुनै खास औषधि पत्ता लागिनसकेको र सामाजिक सञ्जालमा गरिएका चर्चाहरुमा सत्यता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहिले कोरोनाबाट बचाउने भन्दै लसुनको धेरै प्रचार भैरहेको छ । लसुनमा आयुर्वेदिक औषधीय गुण भए पनि कोरोनाबाट बचाउन सक्ने बारेमा कुनै प्रमाण भेटिएकाे छैन । चीनमा एकजना महिलाले औषधि हुने भन्दै डेढ किलो लसुन खाँदा घाँटीमा समस्या आएर अस्पताल भर्ना गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै बीबीसीले सामान्य अवस्थाकोभन्दा धेरै लसुन नखान आग्रह गरेको छ । 

Shivapuri rural municipality awareness message jalapanews

यस्तै अहिले क्लोरीन डाइअक्साइड लगायतका वस्तुले कोरोना ठिक गर्छ भन्ने प्रचार भैरहेकोमा यस्ता उत्पादनले उल्टै बान्ता हुने, पखाला लाग्ने लगायतका समस्या आउन सक्ने चेतावनी दिएको छ । 

यस्तै अल्कोहल अर्थात रक्सीलाई सेनिटाईजर अर्थात निर्मलीकरण गर्ने वस्तुको रुपमा प्रयोग गर्न सकिने र घरमै विभिन्न वस्तु मिसाएर सेनिटाईजर बनाउन सकिने बारेमा सामाजिक सञ्जालमा प्रचार भैरहेको छ । 

घरमा बनाउने सेनिटाईजरले केही हदसम्म काम गरे पनि छालामा सङ्क्रमण हुने भएकोले सावधानी अपनाउन आग्रह गरिएको छ । यस्तै, खान मिल्ने चाँदीको घोलले कोरोनाको सङ्क्रमण ठिक गर्ने प्रचार भैरहेको भए पनि त्यसले कोरोना ठिक पार्ने कुनै प्रमाण नरहेको र उल्टै मिर्गौलासहितका अङ्गमा क्षति गर्ने विभिन्न अध्ययनले देखाएको बीबीसीले जनाएको छ । 

हरेक १५ मिनेटको फरकमा पानी पिउँदा कोरोना सङ्क्रमण नहुने र भएको पनि ठिक हुने प्रचार सामाजिक सञ्जालमा भैरहे पनि यसरी पानी पिउँदा सङ्क्रमण रोकिने तथा ठिक हुने कुनै प्रमाण नरहेको डाक्टरहरुले बताएका छन् । 

पानी पिउनु राम्रो भए पनि यसले कोरोनाबाट बचाउने भन्ने कुरा गलत भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यस्तै आईसक्रिम तथा चिसो खानेकुरा नखान दिईने सल्लाह पनि सामाजिक संजालमा धेरै पाईन्छ । 

रुघाखोकी, निमोनियाका लागि चिसो बस्तु जोखिमयुक्त भएकोले यो सल्लाहमा केही सत्यता भए पनि कोरोना रोक्न भूमिका भने नखेल्ने राष्ट्रसङ्घीय बालकोष यूनिसेफले जनाएको छ । तातो पानीले नुहाउँदा, तातोमा बस्दा वा तापक्रममा भएको वृद्धिले कोरोनाका भाइरस मर्ने कुरा पनि सत्य नभएको यूनिसेफले जनाएको छ । 

६० डिग्री सेल्सियस तापक्रममा भाइरस मर्ने भए पनि तातोपानीले नुहाउने, आगो तथा हिटर ताप्ने जस्ता क्रियाकलापले भाइरस नमर्ने बीबीसीले जनाएको छ ।अहिले प्रचारमा आईरहेका विभिन्न सुझावको सत्य जाँच गर्दै बीबीसीले अहिलेसम्म कोरोना भाईरसको औषधि पत्ता लागिनसकेकोले त्यस्ता प्रचारको पछि नलाग्न आग्रह गरेको छ ।

तर नियमित व्यायाम, प्रयाप्त पानी पिउने, ताजा फलफूल तथा तरकारीहरू र सन्तुलित भोजन जस्ता स्वस्थ व्यवहारले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाएर फाईदा भने गर्ने बीबीसीले जनाएको छ

उज्यालोबाट

प्रतिक्रिया दिनुहोस्