१२ श्रावण २०८१, शनिबार
Logo

कृष्णबहादुर महरा: अदालतले सफाइ दिएपछि नेकपा नेताले उठाएको प्रश्न

बलात्कारको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महराले काठमाण्डू जिल्ला अदालतबाट सफाइ पाएपछि त्यसलाई लिएर अनेकौँ प्रतिक्रियाहरू व्यक्त भइरहेका छन्।

तर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सार्वजनिक रूपमा मुख खोलेका छैनन्।

उनले सफाइ पाएको पत्र प्रतिनिधि सभाको बैठकमा मङ्गलवार जानकारी गराइएसँगै अभियोगका कारण सांसदबाट निलम्बित महराका निम्ति फेरि संसद्‌मा प्रवेश गर्ने बाटो खुलेको छ।

महरा स्वयम्‌ले रिहा भए लगत्तै जारी एउटा विज्ञप्तिमा आफूले ‘तथाकथित आरोप’ खेपेको बताउँदै भनेका थिए, “मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा सधैँ थियो, अहिले पनि छ र सदैव रहिरहने छ।”

Shivapuri rural municipality awareness message jalapanews

महरासँगै सशस्त्र द्वन्द्वमा सामेल नेकपाका नेता राम कार्कीले बीबीसीसँगको कुराकानीमा महरा प्रकरण र अदालतको निर्णय लगत्तै व्यक्त भइरहेका प्रतिक्रियाहरूबारे टिप्पणी गरेका छन्।

पार्टीमा गम्भीर छलफलको खाँचो

आफू र महराबीच ३० वर्ष लामोको सम्बन्ध रहेको बताउने कार्की भन्छन्, “उहाँले अदालतबाट सफाइ पाउनु राम्रो कुरा हो। तर हाम्रो समाजको नैतिक मापदण्ड छ। त्यसमा उहाँको कमजोरी भएको भन्ने कुरा देखिन्छ। मैले केन्द्रीय समितिको बैठकमा नै पार्टीले एउटा छानबिन समिति बनाओस् र आफ्नो धारणा स्पष्ट गरोस् भनेर माग गरेको थिएँ।”

उनको भनाइ छ, “पार्टी एउटा परिवार पनि हो। परिवारको आफ्नै मान्यता हुन्छ। फैसला आइसकेको सन्दर्भमा पनि यसप्रकारको विवाहेतर सम्बन्धहरूलाई लिएर त्यो के हो, कसो हो, आफ्नो धारणा बाहिर ल्याउनुपर्छ। प्रेमलाई स्वभाविक रूपमा अपराध मानिन्न। तर एक समयमा धेरै जनासँग प्रेम गर्न हाम्रो आचारसंहिताले स्वीकृति दिँदैन। यसबारेमा पार्टीले जीवन्ततापूर्वक छलफल गर्नुपर्छ।”

“अदालतले कानुनलाई धाराहरूलाई पछ्याउनुपर्ने हुन्छ। तर पार्टीले के भएको हो , कसरी भएको हो भनेर सोध्नुपर्छ। कसरी पुनर्स्थापित गर्ने र कमजोरी भएका छन् भने कसरी अघि बढ्ने भन्नेमा समीक्षा गर्नैपर्छ।”

सोमवार जिल्ला अदालतले गरेको फैसलाको पूर्ण पाठ आउन बाँकी भएपनि सुरुमा महराले आफूलाई बलात्कारको प्रयास गरेको आरोप लगाएकी संसद् सचिवालयकी महिला कर्मचारीले मुद्दा दर्ता नहुँदै आफ्नो भनाइ फिर्ता लिएकी थिइन्।

एमसीसी: महराले सङ्कोच मान्नु स्वाभाविक

फौजदारी अभियोग लागेर महराले सभामुख पदबाट राजीनामा दिइसकेपछि कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत ५० अर्ब रुपैयाँ बराबरको एउटा अनुदान संसद्‍बाट अनुमोदन गराउन सभामुख महराको भूमिका बाधक बनेको टिप्पणी गरेका थिए।

एमसीसीलाई लिएर अझै पनि सत्तारूढ नेकपाभित्र गम्भीर मतभेदहरू छन्।

विगतमा माओवादीको विदेश विभागमा रहेका कार्की भन्छन्, “एमसीसी भनेको आर्थिक आवरणमा आएको अमेरिकी रणनीति हो। यो अर्थमन्त्रालयसँग नभई रक्षा मन्त्रालयसँग सम्बन्धित छ। संसारमा शान्ति चाहनेहरू समारिक गठबन्धनहरू नबनून् र अरू आर्थिक र सांस्कृतिक सेतुहरू बनून् भन्ने पक्षमा हुन्छन्।”

उदाहरण दिँदै उनले भने, “यसबारे इन्डोनेशियाले चीन, भारत र अमेरिकालाई पनि समेटेर छलफल गर्ने प्रयास गर्‍यो। आसियानका अरू मुलुकहरूले पनि यसलाई रणनीतिबाट अलग गरेर एउटा आर्थिक सांस्कृतिक सम्बन्धको सेतु बनाउनुपर्छ भनिरहेका छन्। भारतले पनि रणनीति भन्ने शब्दसँग आपत्ति गरेको त जगजाहेर कुरा हो। यो सबै सन्दर्भ हेर्नुपर्छ। जुन कुरामा देशभित्र र अन्तर्राष्ट्रिय जगतमा पनि यत्रो विवाद भइरहेको छ, त्यसलाई लिएर स्वाभाविक रूपमा उहाँ (महरा) लाई अलिकति सङ्कोच थियो होला।”

प्रधानमन्त्री ओलीले यसलाई जारी संसद् अधिवेशनबाटै पारित गर्ने बताउने गरेका छन्।

महराको मनोविज्ञानबारे अनुमान

बलात्कारको आरोप लागेपछि महरा ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसेका थिए।

रिहाइपछि उनले आफूप्रति सद्भाव र सहानुभूति राख्ने सबैलाई धन्यवाद दिएका थिए।

नेता कार्की महरा र उनको धारणालाई भावी दिनमा उनले गर्ने कामका आधारमा सही वा गलत भन्न सकिने बताउँछन्।

कार्कीको टिप्पणी छ, “उहाँले जे कारणले जस्तो प्रकारको सजाय पाउनुभयो उहाँलाई (हिरासत) बाहिरै राखेर अदालती प्रकिया अघि बढाउन सकिन्थ्यो भन्ने लागेको होला। अहिले मैले उहाँको खास स्थिति बुझ्न सकेको छैन। देशको एउटा माथिल्लो संवैधानिक ओहदामा बसेको मान्छे हठात् जेल जान्छ अनि जेलबाट बाहिर निस्किएपछिको मनोदशाका बारेमा अहिले नै केही भन्न सकिँदैन। तर उहाँले आफ्ना धारणा राखेर आफ्नो जुन राजनीतिक वा नागरिक स्तरको प्रतिबद्धता छन् त्यसमा म अझै कायम छु भनेर भन्न खोज्नु भएको होला।”

मुद्दा चलिरहेकै बेला नेकपाका एक अध्यक्ष प्रचण्डले महराबाट ‘कहीँ न कहीँ त्रुटि भएको’ बताएका थिए।

तर उनको भनाइ थियो, “फौजदारी अपराध खालको गल्ती होइन। नैतिक खालको, आचारसँग सम्बन्धित गल्ती पक्कै पनि हो।” विविसीबाट

प्रतिक्रिया दिनुहोस्