१३ असार २०७९, सोमबार
Logo
final gp koirala advert

महिनावारीलाई सहज मान्छन् अभिभावक

१३ वर्षीया किशोरी रीमावुङ राईलाई राजश्वला (महिनावारी) हुँदा परिवार र समाजबाट कुनै समस्या छैन। छोरी किशोरावस्थामा पुगेको थाँहा पाएका बाबुआमाले पहिलो महिनावारी हुनुअघि नै सचेत गराउदै विभिन्न सल्लाह दिएकाले उनलाई पहिलो महिनावारीमा पनि कुनै अप्ठेरो महसुस भएन।

उनीजस्तै १२ वर्षीया तयामी राईलाई पनि महिनावारीको पीडा अहिलेसम्म महसुस भएको छैन। शिक्षित बाबुआमा र खुल्ला पारिवारिक वातावरण भएकाले उनीहरुलाई महिनावारीको समस्या नपरेको हो। महिनावारी हुँदा उनीहरुलाई भान्सा जान, खाना नास्ता पकाउन कुनै रोकटोक हुदैन न त देवता कोठामा जान, पुजा गर्न र बाउ आमासँग बस्न, सुत्न नै बन्देज हुन्छ।

मानव जगतको सर्जक महिलामा हुने अनुपम प्राकृतिक घट्नाक्रम महिनावारी भए पनि सामाजिक अन्धविश्वासले छाउगोठ बस्नुपर्दा पश्चिम नेपालका धेरै किशोरी, युवती र महिलाले अकालमा ज्यान गुमाउदै आएको समाचार छताछुल्ल भईरहेको छ। प्रकृतिको बरदान मान्नुपर्ने महिनावारीलाई रुढीग्रस्त समाजको अन्धविश्वास, परम्परागत सोच र धार्मिक मान्यताले अनिवार्य छाउगोठ बस्नुपर्दा वर्षेनी कैयौं महिलाको अकालमा ज्यान जाने गरेपछि अहिले अछाममा छाउगोठ भत्काउने अभियान चलाउनु परेको छ।

उदयपुरमा पछिल्लो दुई वर्षयता प्रायः सबै विद्यालयमा महिनावारीमा सहज पार्न प्याड वितरण र निर्माण अभियान नै चलाइएको छ। महिनावारी हुँदा छात्राहरु पढ्न नआउने समस्या टार्न सुरुमा गैरसरकारी संस्थाको अगुवाईमा नियमित विद्यालय उपस्थित गराउन उनीहरुलाई प्याड उपलब्ध गराइएको थियो। तर, पछिल्लो एक वर्षयता धेरै विद्यालयले छात्राकै सक्रियतामा स्कुलमा प्याड बनाएर प्रयोग गर्न थालेपछि नियमित स्कुल आउँने र पठनपाठन सहज भएको पाइएको छ।

जिल्लाका प्रायः सबै सामुदायिक विद्यालयमा छात्राहरुले प्याड आफै बनाएर प्रयोग गर्ने गरेको शिक्षकहरुले बताएका छन्। सदरमुकाम गाईघाट र बजारक्षेत्रका विद्यालय मात्र होईन, विकट पहाडी भेगका विद्यालयहरुमा पनि यो क्रमले अभियान कै रुप लिइसकेको छ। कक्षा ६ देखि १२ सम्मका आधारभूत र माध्यामिक विद्यालयका छात्राहरु आफैले प्याड बनाएर प्रयोगमा ल्याउन थालेपछि पठनपाठन नियमित र सहज भएको शिक्षकहरु बताउँछन्।

ताप्ली गाउँपालिका ३ इनामेस्थित मावि झिल्केपोखरीका प्रधानाध्यापक गोविन्द खड्काका अनुसार सुरुको वर्ष जाल्पा एकीकृत विकास समाज उदयपुर नामक गैरसरकारी संस्थाले प्याड किनेर स्कुललाई सहयोग ग¥यो। वर्ष दिनसम्म किनेर दिँदा खर्च धेरै लागेपछि प्याड बनाउने तालिम संस्थाले नै सञ्चालन गरेर स्कुलमै प्याड बनाउन थालियो। तालिम पाएपछि बाहिरबाट कच्चा पदार्थ ल्याएर छात्राहरु आफैले प्याड बनाएर प्रयोग गर्दै आएपछि अहिले कसैको सहयोग नचाहिएको र पढाई पनि सुचारु हुने गरेको प्रअ खडका बताउँछन्।

उदयपुरका सहरी क्षेत्रमा मात्र होईन, विकट स्थानीय तहका गाउँगाउँका विद्यालयमा छात्रालाई प्याड प्रयोग गर्न र विसर्जन गर्नका लागि भनेर छुट्टाछुट्टै कोठा भएको भवनसमेत बनाउने क्रम चलेको छ। झिल्केपोखरी माविमा शौचालयसँगै जोडेर प्याड प्रयोग गर्न र विसर्जन गर्न अलग्गै कक्षसहितको सानो भवन नै बनाइएको छ। ताप्लीकै ४ नं. वडास्थित मावि चिसापानीमा प्रशासनिक कक्षसँग जोडिएको छात्रा शौचालयमै किशोरीहरु प्याड प्रयोग गरेर विसर्जन गर्ने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर श्रेष्ठले बताए। उनका अनुसार प्याडको सुविधापछि छात्राहरु छात्रसरह कक्षामा उपस्थित हुने गरेकाले पहिलेजस्तो किशोरीहरुको पढाईमा बाधा पर्ने गरेको छैन।

‘महिनावारी अभिसाप होईन बरदान हो’ भन्ने सन्देश दिन उदयपुरमा गतवर्ष ‘महिनावारी शिक्षा सम्मेलन’ नै आयोजना गरिएको थियो। सो सम्मेलनमा महिनावारी के हो, यसको फाईदा बेफाईदा, यसबाट हुनसक्ने असर, बच्ने उपाय र रुढीबादी मान्यता र अन्धविश्वासबारे चिर्न बिभिन्न विषेशज्ञसहितको टोलीले एकदिने शिविरमा परामर्श दिएको थियो।

जिल्ला समन्वय समिति र खानेपानी तथा सरसफाई मन्त्रालयको साझेदारीमा आयोजित कार्यक्रममा जिल्लाका सामुदायिक तथा निजी विद्यालयका किशोर किशोरी, शिक्षक शिक्षिका तथा अभिभावकको सहभागिता थियो। सम्मेलनले धेरै रुढीग्रस्त सोच बोकेका अभिभावकको आँखा खुलेपछि जनमानसमा चेतनास्तर बढेको जिल्ला समन्वय प्रमुख खड्ग परियार बताउँछन्।

महिनावारी प्राकृतिक घटना भएको र यसले नै मानव श्रृष्टि थामेको भन्ने कुरा रुढीग्रस्त समाजले बुभ्mन नसक्दा महिलाहरु पीडित हुनु परेको उनको धारणा छ। मानव भ्रुण उत्पन्न हुनकै लागि महिनावारी हुनुपर्ने तथ्य स्वीकार्न नसक्दा महिलाहरु महिनावारीका बेला अछुत भएर चुलाचौका र अभिभावकबाट वहिस्कृत हुनुपर्ने, छाउगोठ बसेर ज्यान माया मार्नुपर्ने र सुत्केरी हुँदा सुत लागेर अपहेलित हुनुपर्ने ढुंगे युगको सिकार हुनु परिरहेको परियारको भनाई छ।

वैज्ञानिक तथ्य आत्मसात गर्न नसक्दा छुवाछुत भेदभावले मानवबीच असमान भएजस्तै महिनावारी प्राकृतिक देन हो भनेर बुभ्mन नसकेकाले आमा, दिदीबहिनीको ज्यान फाल्नुपर्ने अवस्थालाई आधुनिक समाज विज्ञानकै चुनौती भएको भन्दै त्यसविरुद्ध सचेतना अभियानलाई तीब्र पार्नुपर्ने सुझाव परियारले दिएका छन्।

महेश्वर चामलिङ राईले नागरिकमा खबर लेखेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्