१२ श्रावण २०८१, शनिबार
Logo

दुप्चेश्वर मेलाको सम्झना- श्रीराम श्रेष्ठ

मङ्सिर महिना । बिहानको समय कुहिरोले ढपक्कै छोपिएका छन्, नुवाकोट सदरमुकामस्थित टोल–बस्तीहरू । जाडोले गर्दा बट्टारस्थित आफ्नै घरको ओछ्यानमा निद्राले छाडे पनि सिरकभित्र गुटुमुटिएर सुतिरहेँ अबेरसम्म । धान्यपूर्णिमाको समयमा दुप्चेश्वर मेला लाग्छ । म पनि उक्त मेलामा जानका लागि तयार भएँ । मेला भर्नका लागि तीर्थयात्रीहरू हुलका हुल लामबद्घ भएको देखिन्छ । हुलमा मिसिन जाडोलाई परपर धकेल्दै विदुर निवासी मित्र सुरजकुमार श्रेष्ठ र म मोटरसाइकलमा हुत्तियौँ ।

          नुवाकोटकै व्यापारिक केन्द्र बट्टारबाट यात्राको क्रममा गँगटे, शेरा हुँदै ढिकुरे पुग्यौँ । ढिकुरे अन्नदेखि तरकारी खेतीमा जिल्लाकै अग्रणी ठाउँ मानिन्छ । सिँचाईको राम्रो सुविधा भएकै कारणले यहाँ खेती फस्टाएको हो । अन्न र तरकारी उब्जनी गरेर यहाँका किसानहरूले पर्याप्त मात्रामा आम्दानी गरिराखेका छन् । ढिकुरेसँगै काँध जुधेको लबदु र लबलेका  गाउँबस्तीहरूमा पनि सिँचाईको राम्रो प्रबन्ध भएकोले गर्दा त्यहाँका कृषकहरूले पनि ढिकुरेले जस्तै लाभ उठाइरहेको देखिन्छ ।

       अन्नबाली र तरकारी खेतीको लोभलाग्दा दृश्य नियाल्दा नियाल्दै सूर्यमति नदी, सानातिना छाँगा, झरना, हरियाली वनजङ्गलको थप दृश्यले मोहित हुँदै हामी खरानीटार पुग्यौँ । खरानीटारलाई दुई नम्बर क्षेत्रको सदरमुकाम मानिन्छ । यहाँ सानो बजार पनि रहेको छ । प्रहरीचौकी, उपस्वास्थ्य चौकी, सरकारी बैकका शाखाहरू आदिका कारणले गर्दा नै यस बजारमा चहलपहल बढेको हो । खरानीटारमा हामीले एक घण्टा जति विश्राम लियौं र यस भेगमा चिनजानका साथीहरूसँग भेटघाट पनि ग¥यौँ । खरानीटारको भूमिमा टेक्दै गर्दा मलाई विगतको घटनाले स्मरण गराइदिन्छ ।

     कुरो त्यस्तै २०४५ सालको हो । त्यतिखेर तानशाही पञ्चायती व्यवस्थाको विरूद्घमा प्रजातन्त्रवादीहरूले विरोधका कार्यक्रमहरू लुकिछिपी गर्थे । म तत्कालीन समयमा च्वाडी पब्लिक माध्यामिक बिद्यालयमा पढ्दै थिएँ । पञ्चायतको विरूद्घमा भुसको आगोसरि आन्दोलनलाई तीब्रता दिलाउनका लागि विष्णु अधिकारी सठ्या, विष्णु आचार्य, धुव्र अधिकारी, मुकुन्द सिटौला, चोकराज शाक्य, गोरे मिजार, नारायणप्रसाद भण्डारी, बिहारीलाल श्रेष्ठ, उपेन्द्रबहादुर ओझा, रमा उप्रेती, गोविन्द सिलवाल, विष्णु तिवारी, शिव अधिकारी, सानुबाबु पाठक, विनोद बस्नेत, प्रकाशचन्द्र ढुङ्गाना, रामबाबु के.सी., सुरेन्द्रराज अधिकारी, हरिकृष्ण श्रेष्ठ, घनश्याम श्रेष्ठ, वासु सापकोटा, राजु थापा, राजु श्रेष्ठ, मधुसुदन पाठक, दिलबहादुर शाक्यजस्ता नुवाकोटेली युवाहरू लागेका थिए । तिनै अग्रजहरूले लगाएको कामअनुसार मैले केही पञ्चायत विरोधी पर्चाहरू खुट्टामा बाँधेर खरानीटार निवासी डिल्लीबहादुर उप्रेतीको घरमा छाडेको सम्झना पनि ताजै छ त्यसो हुनाले मलाई खरानीटारको भूमिमा मेरो पाइला पर्ना साथ मलाई गर्वको अनुभूति अहिलेसम्म हुन्छ ।

Shivapuri rural municipality awareness message jalapanews

०००

          खरानीटारबाट यात्रालाई अगाडि बढाएका मात्र थियौं बाटैमा भेटियो एक हुल तामाङ समुदायको । त्यो हुलका मानिसहरू आफ्नो संस्वृmति र परम्पराअनुसारका भेषभूषा लगाएर ढ्याङ्ग्रो र ढोलक बजाउँदै नाचगान गर्दै अगाडि बढिरहेको थिए । उक्त नाचगानले मेला भर्न जाने तीर्थयात्रुहरूलाई मनोरञ्जन प्रदान गरिरहेको थियो ।

          कच्ची मोटर बाटो तथा मान्छेको भीडले गर्दा मोटरसाइकलबाट यात्रा गर्न कठिन भयो हामीलाई । त्यसबेला मित्र सुरजजीले मोटर साइकल ड्राइभ गर्नु भएको थियो । हामी सातबिसे बजार पुग्नै लागेको बेला बाटोमा एकाएक लड्यौँ । बाटोमा पानी हालेका कारण हाम्रो मोटरसाइकल चिप्लियो । हिलाम्मे भयौँ हामी हिलो र पानीमा । तर त्यस्तो चोटपटक भने लागेन । हामी लडेको देखेर केही तीर्थयात्रीहरूले हामीलाई सहयोग गरे । लाजले हामी भुतुक्कै भई चाँडोभन्दा चाँडो त्यहाँबाट हामी भाग्यौँ । केही पर गई धाराको पानीले कपडामा लागेको हिलो पखालेर हामी खुबै दुःखद् हाँसो हाँस्यौँ । यही हो जीवनमा घट्ने सुखदुःद । अथवा यात्राका अनुभूतिहरू भन्ने सम्झेर अगाडि बढ्यौं ।

          यात्रालाई तन्काउने क्रममा समुन्द्रटार हुँदै रामती पुगियो । मेलाको भीडभाडले गर्दा दुप्चेश्वर फेदीमा पार्किङ गर्ने ठाउँ थिएन । र हामीले रामतीमा नै राख्यौ मोटरसाइकल । १० मिनेटको पैदल यात्रापछि दुप्चेश्वर फेदीमा पुगियो ।

          तादी खोला तर्नका लागि स्थानीयले फड्के राखेको रहेछ, काठका खम्बाहरू तेस्र्याई । मान्छेहरूको आवतजावतले गर्दा फड्के पार गर्नका लागि केही समय पर्खनुपर्ने रहेछ । खोला तर्न साथ हाड बजार जस्तो देखिने सानातिना छाप्रोमा लामबद्घ राखिएका पसलहरू । मेलाको वखतमा यहाँ उत्पादित घरेलु वस्तुहरू राडी, पाखी, भकारी, मान्द्री, नाङ्लोको खरिद बिक्री बाक्लै हुँदोरहेछ । त्यस्तै खाने कुरा र अन्य वस्तु किनमेल गर्न तीर्थयात्रीहरूको व्यापक चहलपल देखिन्थ्यो । दुप्चेश्वर महादेवको दर्शन गर्नका लागि फेदीदेखि मन्दिरसम्म लाम्बद्घ छन्— तीर्थयात्रीहरू । त्यस्तै लाइनमा हामी मिसियौं । करिव तीन घण्टा लगाएर हामी मन्दिरमा पुगी दुप्चेश्वर महादेवको दर्शन ग¥यौ ।

          दुप्चेश्वरको दर्शन गर्नका लागि जिल्लाका साथै काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक आदि जिल्लाबाट हजारौँको सङख्यामा मानिसको आगमन हुँदोरहेछ । काठमाडौँबाट आउने क्रममा बुढानिलकण्ठ, शिवपुरी, खोलेगाउँ, समुन्द्रटार हँुदै आउँदा रहेछन् ।

          नुवाकोटको स्थानीय राउतबेँसीको सल्ले गाउँमा अबस्थित दुप्चेश्वर महादेव मन्दिर जिल्लाकै अग्रणी सम्पदा मानिन्छ । सो मन्दिर उच्च र अनकन्टार ठाउँमा रहेको हुँदा अति आकर्षक र मनोरम देखिन्छ । वि.सं. १९९० सालसम्म मन्दिर जानका निमित्त बाटो सजिलो नभएको हुँदा थोरै तीर्थयात्रीहरू मात्र आफ्नो ज्यानको वास्तै नगरी भीरका बोटविरुवा समाउँदै दर्शन गरेर फर्कन्थे । त्यसपछि स्थानीय बासिन्दाहरू मिली बाँसको लिङ्ग गाडी मन्दिरसम्म पुग्न सक्ने अस्थायी बाटो बनाए , तथापि मुलुकमा बहुदलीय व्यवस्था हुँदै गणतन्त्र स्थापना भएपछि मन्दिरसम्म पुग्नका लागि ढुङ्गा र सिमेन्ट जडान गरी बाटो निर्माण भएको हुनाले तीर्थयात्रीहरूलाई राहत मिलेको छ ।

          मन्दिरमा रहेको महादेवको मूर्ति शिला पत्थरद्वारा निर्मित छ भने मूर्तिको आवृmति दिन प्रतिदिन बढ्दै गएको जनविश्वास रहेछ । मन्दिरमा चढाएको जल, दूध पहराको छिद्रबाट छिरेर जल धाराको रूपमा झर्ने गर्दोरहेछ । त्यही जललाई महादेवको प्रसादको रूपमा तीर्थयात्रीहरूले ग्रहण गर्ने गर्दछन् ।

          मन्दिरबाट निक्लिने स्थानको तलपट्टि गणेश चेप (दुई वटा ढुङ्गाको कोप्चेरो ) भन्ने ठाउँ छ । तीर्थयात्रीहरू सो चेपबाट छिर्ने गर्दछन् । चेपबाट छिरेमा कम्मर दुख्ने, जिउ दुख्ने रोग निको हुने जनविश्वास रहेको छ । अझ चेपको माथिल्लो ढुङ्गाले छोएमा पापी ठहरिने र त्यो तत्कालै मर्ने जनमान्यता रहेछ । विशेष गरेर सन्तान नभएका दम्पत्ति, सन्तान वर माग्न मन्दिरमा धाउने गरेको जोडीहरू प्रशस्तै भेटिन्छन् । विवाह गरेको ४÷५ वर्ष बितिसक्दा पनि सन्तान नभएको कारण घरपरिवारबाट गरिने व्यवहारको पीडा व्यक्त गर्ने महिलाहरूको भने यहाँ ओइरो नै लाग्दोरहेछ ।

          धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहे तापनि दुप्चेश्वर महादेवको मन्दिर कहिले स्थापना भएको भन्ने कुराको ठोस प्रमाण भेटिएको छैन । यहाँ प्रचलित किम्वदन्तीअनुसार परापूर्वकालमा सतीदेवीले आत्मदाह गरेकीेले पागल बनेका महादेव यहीँ आएर जाग्राम बसेका हुन भन्ने धार्मिक विश्वास पाइन्छ । स्थानीय बुद्विजीवीहरू दुप्चेश्वरको कैलाश आवृmति कुनैकलाकारहरूले त्यत्तिके कुँदेको होइन्, यो त परापूर्व कालदेखि तादी नदीको शिलाबालकावली जल प्रवाहबाट लाखौलाख वर्षसम्म निर्मित प्रावृmतिक शिवलिङ्ग भएको बताइन्छ । यता मन्दिरको उत्पत्ति सम्बन्धमा स्थानीय बासिन्दाहरूको पृथक पृथक भनाइ रहेको छ एकथरीको भनाइमा वासे तामाङले एक दिन गाईवस्तु चराउने क्रममा एउटा गाई हराएछन् । खोजी गर्दा फेला पर्न सकेनछ । राति सपनामा तिनै वासेलाई एकजना जोगीले दर्शन दिई ‘तिम्रो गाई हराएको छैन, यतै कतै जीवितै छ खोजी हेर’ भनेछन् । भोलिपल्ट बिहान खोजी गर्दै जाँदा अनकन्टार भीरमा गाई फेला परेछ । सबै गाउँले चकित परेछन् । कसरी त्यहाँ गाई पुग्यो ? अनि त्यसै ठाउँमा अर्थोल आकारको शिवलिङ्ग फेला परेछ र त्यसै लिङ्गलाई दुप्चेश्वर नामाकरण गरी पूजाआजा गर्ने चलनको शुरूवात भएको रहेछ ।

          अर्को जनकथनअनुसार गंगाजी र महादेवको कथन पनि जोडिएको कुरा सन्न पाइन्छ । यस स्थानमा सूर्यमति, नागी र केतुङ खोलाहरूको त्रिवेणीमा ठूलो दह जम्न पुगेको किम्वदन्ती पनि छ । सो दलमा जसको पहिलो मृत्यु हुन्छ, त्यसलाई सरासर स्वर्ग प्राप्त हुन्छ भन्ने शिवजीको बरदान थियो । कुनै समय पश्चिमपट्टिबाट एउटा बाघ र पूर्वपट्टिबाट एउटा बँदेल दहमा परेर मरेछन् । बाघलाई स्वर्ग लान भनी आश्विनी कुमारहरू आएछन् । त्यहाँको मनोहर प्रावृmतिक छटा देखेर बालुवाको शिवलिङ्ग स्थापना गरेर पूजाआजा चलाएछन् । त्यो दललाई बाघकुण्ड नाम राखी उनीहरू स्वर्ग फर्केछन् । त्यही शिवलिङ्ग नै दुप्चेश्वर हो भन्ने कुरा स्थानीय कथन छ । यसरी विभिन्न कथन जोडिएको दुप्चेश्वर महादेव मन्दिर धार्मिक आस्थाको केन्द्रविन्दुको रूपमा लिन सकिन्छ ।

          सो मन्दिरको छेउछाउमा गाउँबस्ती छैन । मेलाको समयमा स्थानीय बासिन्दाहरूले तीर्थयात्रीहरूलाई वास बस्नका लागि सानातिना कटेराहरू बनाइदिएका हुनाले केही राहत मिले पनि तीर्थयात्रीहरूको बढ्दो आगमले गर्दा सत्ने ठाउँ नपाएर कति त ढुङ्गाको ओडारमा पनि रात बिताउँछन् । यद्यपि हामीचाहिँ समुन्द्रटारतिर आई एक होटलमा वास बसी बिहानीपख त्यहाँबाट फर्कियौँ । दुप्चेश्वरको यात्राको अनन्त सम्झना बोकेर ।

लेखिएको मिति ः २०६४/०८/०९

प्रतिक्रिया दिनुहोस्