कम्युनिष्ट सरकारलाई चिनको उपहारः टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्गको सम्झौता
नुवाकोट – चीनले केरुङबाट काठमाडौं जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ । करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तरोन्नति गर्न चीनले नेपाललाई सघाउने भएको छ । त्यस्तै, सडकसँगै रेलमार्ग निर्माणमा पनि सघाउने वचन चिनियाँ राष्ट्रपति सी जिनपिङले दिएका छन् ।
काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म एउटा सुरुङमार्ग खोल्ने नेपालको प्रस्तावमा आइतबार सहमति हुँदै छ । सडक विभागका अनुसार टोखा–छहरे सुरुङमार्ग करिब चार किलोमिटर लामो हुनेछ । त्यस्तै, रसुवाको बेत्रावतीबाट स्याफ्रुबेँसी जोड्ने अर्को सुरुङमार्ग पनि चिनियाँ सहयोगमा निर्माण हुनेछ । २० किलोमिटर लामो यो सुरुङमार्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राथमिकतामा छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै सुरुङमार्गको अध्ययन सुरु हुनेछ । आइतबार उच्चस्तरीय वार्तामा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।
चिनियाँ राष्ट्रपति सीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा सहयोग गर्ने वचन दिएका छन् । राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा सीले केरुङ हुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि चीनले सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सुरुङमार्गको सम्झौता हुने खबरले स्थानीयबासी उत्साहित –
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।
उनीहरुले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने जोड दिए । सुरुङ मार्ग पस्ने र बाहिरिने भनिएका टोखाको झोर र नुवाकोटको छहरेका स्थानीय खुशी व्यक्त गर्दै लामो समयदेखिको चर्चाले अब मूर्त रुप लिने आशा व्यक्त गरे । सुरुङ मार्गको प्रवेशद्वार टोखा नागरपालिका वडा नं १, भोरस्थित नर्जेको कुलो र गेलालबारीको खोल्सामा पर्ने वडाअध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।
नुवाकोट हुँदै काठमाडौँ जोड्ने सुरुङमार्ग निर्माण भए राजधानी काठमाडौँ छिट्टै पुग्नुका साथै व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवद्र्धन हुने नुवाकोट र रसुवावासीको विश्वास छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गत भदौ २८ गते यही क्षेत्रमा बालमैत्री पार्क शिलान्यास गर्दा सुरुङ मार्ग निर्माण हुने बताएका थिए ।
राजधानी छिट्टै
चीनको सीमा जोडिएको रसुवागढी नाकादेखि नुवाकोट हुँदै काठमाडौं जोड्ने सुरुङ मार्ग निर्माण भए व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवर्द्धन हुने र राजधानी काठमाडौं छिट्टै पुगिने नुवाकोट र रसुवावासी बताउँछन् । शिवपुरी गाउँपालिका–८ का खन्याचौरका स्थानीय किसान पशुपति न्यौपानेले भने, ‘सुरुङ मार्ग छिटो बने छोराछोरीलाई पढाउन कोठा लिएर काठमाडौंमा राख्नु पर्दैन । बिरामी भए छिट्टै अस्पताल पुगिन्छ ।
तरकारी काठमाडौंको बजारमा लान सजिलो हुन्छ ।’ सानो होटल र कपडा पसल चलाउँदै आएका लिखुगाउँपालिकाका ६ छहरेका राजाराम सिलवाल सुरुङ मार्ग निर्माणले व्यवसाय बढ्ने बताउँछन् । रसुवागढी हुँदै काठमाडौं छिचोल्ने सुरुङ मार्ग निर्माणले व्यापार व्यवसाय र कलकारखाना खुल्ने नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटाको बुझाइ छ । नुवाकोट एक्सप्रेसबाट
प्रतिक्रिया दिनुहोस्