१२ श्रावण २०८१, शनिबार
Logo

प्रदेश ३ को राजधानी नुवाकोट वा रामेछाप लगे पनि हुन्छ, मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा भाषण गर्दा हेटौंडाबाट राजधानी अन्यन्त्र जान नदिने भनिरहे पनि अहिले भने बोली फेर्नु भएको छ ।unn.prixa.net

यसअघिका धेरै भाषणमा हेटौंडाको राजधानी कसैले पनि सार्न नसक्ने भनिरहेका मुख्यमन्त्री पौडेलले अब राजधानी ‘नुवाकोट वा रामेछाप लगे हुन्छ’ भन्नेसम्मको अभिव्यक्ति दिनु भएको छ ।
आफ्नो घर हेटौंडामा भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको मुख्यमन्त्री पौडेलको पछिल्लो अभिव्यक्ति छ । मुख्यमन्त्री पौडेलले हेटौंडामा भाषण गर्दा ‘राजधानी हेटौंडा नै हो’ तर अन्त भाषण गर्दा ‘अन्तै राजधानी लगे हुन्छ’ भन्न थाल्नु भएको छ ।

प्रदेश ३ को स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर, काठमाण्डौमा चाहिँ कुनै हालतमा प्रदेशको राजधानी राख्न नहुने मुख्यमन्त्री पौडेलको तर्क छ । काठमाण्डौको नयाँबानेश्वरमा बिहीबार सञ्चारकर्मीसँगको अन्तक्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायाँमा प्रदेशको राजधानी बनाउन नहुने जिकिर गर्नुभयो ।
तपाईँहरुको सबैभन्दा ठूलो जिज्ञासा राजधानीको सन्दर्भ र नामको सन्दर्भ छ । मैले के अनुरोध गरेँ भने घर पायकका आधारमा राजधानी रहँदैन । मैले चाहेर हुने भए त स्वाभाविक रुपमा हेटौंडामा हुनुपर्छ भनौंला ।
तर, म एउटा कुरा के प्रष्ट पार्छु भने राजधानीका विषयमा मेरो आफ्नो लजिक छ । जबर्जस्त लजिक छ । त्यो के हो भने मैले हेटौंडा नै चाहिन्छ भन्दिनँ, तर राजधानी यो राजधानीमा काठमाण्डौमा हुँदैन । यो मेरो निर्णय हो । यो सिंहदरबारको छायाँभित्र आएर प्रदेशको राजधानी बस्दैन ।

सिंहदरबार यहीँ छ । हामी २०–२५ वर्षसम्म राजधानीलाई कसरी व्यवस्थित गर्ने र राजधानीका जनतालाई कसरी डाइभर्ट गर्ने भन्ने विषयमै लड्यौँ । यो पपुलेसनलाई हामीले कसरी बाहिर लैजान सक्छौं र कसरी बाहिरको क्षेत्रलाई विकास गर्ने भन्ने बारेमै सोच्यौँ ।

राजधानी नुवाकोटमा लान पनि म तयार छु । कुनै आपत्ति छैन । हेटौंडा नै राख्नुपर्छ भन्दिनँ म । रामेछापमा यदि सम्भावना छ भने त्यहाँ पनि जाऔं । तयार होऔं । तर, के भने राजधानी हामी यस्तो ठाउँमा लैजाऔं, जहाँत्यो क्षेत्रको पनिविकास हुन सक्छ, जनताले काठमाण्डौ बाहिर पनि देश हो भनेर सोच्नुपर्छ । हामीले त्यही सेवा र सुविधा दिन सक्यौँ भने काठमाण्डौमा जनता धेरै आउँदैनन् । योचाहिँ मेरो एउटा दृढ कुरा हो ।

अर्को पक्ष के हो भने म तपाईँहरुलाई एउटा उदाहरण दिन्छु । २०१७–०१८ सालमा राजा महेन्द्रले बनाएका जिल्ला सदरमुकामहरु हेर्नुहोस् । प्रशासनिक भवनहरु हेर्नुहोस् । मेचीदेखि महाकालीसम्म जानुभयो भने जम्मै बोर्डर साइडमा छन् ।
अहिले काठमाण्डौका मान्छेलाई काठमाण्डौमा हुँदा राम्रो । नजिकको हिसाबले सबै राम्रो होला । तर, के भने त्यसको व्यवस्थापकीय हिसाब र अरु हिसाबले पनि, संघीय व्यवस्थालाई व्यवस्थापन गर्ने हिसाबले पनि राजधानी काठमाण्डौ हुँदैन र काठमाण्डौ भन्दा बाहिर जानुपर्छ भन्ने मेरो मान्यता हो ।

प्रदेश सभाको दुईतिहाई सदस्यको बहुमतले जहाँ भन्छ, त्यहीँ बनाउने भन्या हुनाले बाटो त त्यही हो, त्यहाँ जानुपर्छ । म जाने हो ।

मेरो व्यक्तिगत इन्ट्रेष्टका आधारमा राजधानी रोकिएको हैन । हामी यसलाई अगाडि बढाउँछौं । अगाडि जान्छ र तपाईँहरु सबैले केही दिनभित्र अब राजधानीको नाम र स्थायी राजधानीको ठाउँ पनि सुन्न पाउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्