१२ श्रावण २०८१, शनिबार
Logo

विद्यालय सञ्चालनको लागि गरिएको महायज्ञबाट २४ लाख संकलन

बेल्कोटगढी÷ सामुदायिक विद्यालयमै नीजिसरह गुणस्तरिय शिक्षा सञ्चालनको लागि नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित करुणाकर आधारभूत विद्यालयमा सञ्चालन गरिएको धार्मिक शैक्षिक महोत्सवबाट २३ लाख रुपैयाँ सहयोग संकलन भएको छ ।
बेलकोटगढी–९ जिलिङ नलगाउँमा रहेको विद्यालयले बैशाख २२ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको शैक्षिक महोत्सव अर्थात् सप्ताहज्ञान महायज्ञबाट उक्त दान सहयोग प्राप्त गरेको हो । महोत्सवको प्रतिनिधि सभाका सदस्य एवं माननिय सांसद नारायण प्रसाद खतिवडाले उद्घाटन गरी समापन नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले गर्नुभएको थियो ।
महायज्ञमा नेपालकै चर्चित कथावाचक बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले कथा बाचन गर्नुभएको उक्त महोत्सवमा स्थानियवासी अभिभावक लगायत जिल्ला र जिल्ला बाहिरदेखिका सयौँ दाताहरुले आर्थिक सहयोग दान गरेका थिए । विद्यालयको लागि दान गरिएको आर्थिक सहयोगमध्ये बेल्कोटगढी नगरपालिका कुमरीका समाजसेवी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जगतबहादुर लामाले व्यक्तिगत रुपमा सबैभन्दा धेरै एकलाख ५० हजार रुपैयाँ दान गर्नुभएको छ । उहाँले विगतमा पनि सोही विद्यालयको शैक्षिक विकासको लागि एकलाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी यसपछि धेरै रकम सहयोग गर्नेहरुमा विदुर नगरपालिकाका पुर्व मेयर शिव प्रसाद गजुरेलले एकलाख ३० हजार रुपैया दान गर्नुभएको छ । यो रकम एकवर्षसम्म विद्यालयमा एकजना शिक्षकलाई तलब दिएर राख्न उहाँले सहयोगको घोषणा गर्नुभएको हो । बेल्कोटगढी कुमरीका समाजसेवी एवं निर्माण वयवसायी पुर्णप्रसाद गजुरेलले एकलाख ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।
यसैगरी, नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य साँसद बहादुरसिंह लामाले एकलाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । यसबाहेक धेरै दान रकम हस्तान्तरण गर्नेहरुमा नारायणघाट चितवनका व्यवसायी रामप्रसाद गजुरेलले ५१ हजार, बेल्कोटगढी पञ्चासेका भुपेन्द्र बानियाँले ५० हजार, समाजवादी पार्टी नेपाल नुवाकोटका संयोजक एवं समाजसेवी डा. भिमलाल तामाङले ३२ हजार, बेल्कोटगढी नलगाउँका युवा एवं यसै विद्यालयका शैक्षिक महोत्सव समितिका संयोजक नवराज गजुरेलले ३१ हजार, सोही स्थानका धन बहादुर गजुरेल सहित उहाँका छोराहरु रामबहादुर र हिमबहादुरले संयुक्त रुपमा ३० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो भने चर्चित कलाकार मनोज गजुरेलले समेत विद्यालयमै आएर आर्थिक सहयोग गर्नुभएको थियो ।
गजुरेलहरुका पुर्खा करुणाकरको नामबाट २३ वर्षअघि २०५३ सालमा स्थापना भएको यस विद्यालयका लागि कुनै आयश्रोत नहुँदा भौतिक पुर्वाधार तथा आर्थिक रुपमा संकटमा परेपछि रकम जुटाउन महोत्सव सञ्चालन गरिएको धार्मिक तथा शैक्षिक महोत्सव मूल समारोह समितिका अध्यक्ष नवराज गजुरेलले जानकारी दिनुभयो । संकलन भएको रकमले विद्यार्थीहरुलाई गाउँमै समय अनुसारको प्राविधिक शिक्षा दिने उद्देश्य राखिएको विद्यालयका प्रद्यानाध्यापक रामेश्वर रिजालले बताउनुभयो ।
यस विद्यालयबाट बालबालिकाले घर आँगनमै अध्ययन गर्ने अवसर पाएपनि विद्यालय भवन, शिक्षकलाई तलब खुवाउनसमेत धौ धौ हुनेजस्ता चरम आर्थिक संकटबाट गुज्रिँदै आएको थियो । हाल कक्षा ८ सम्म पढाई हुने यस विद्यालयले संकलित सहयोग रकमबाट विद्यालयको अक्षयकोष स्थापनाका साथै आधुनिक र अहिलेको विकसित समयको माग अनुसार गुणस्तरिय एवं प्राविधिक शिक्षा सञ्चालनका गरिने बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुराम गजुरेलले बताउनुभयो । विद्यालयले उपेक्षा गरेअनुसार रकम संकलन भएकोले विद्यालयलाई नयाँ योजनाका साथ अघि बढाउन सजिलो हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर प्रसाद गजुरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्