१२ श्रावण २०८१, शनिबार
Logo

सामुदायिक विद्यालय सञ्चालनका लागि ‘धार्मिक–शैक्षिक महोत्सव’

रामहरि गजुरेल,

बेलकोटगढी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनको लागि नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित करुणाकर आधारभूत विद्यालय सञ्चालनको लागि महायज्ञ अर्थात् धार्मिक शैक्षिक महोत्सव सञ्चालन हुने भएको छ । बेलकोटगढी वडा नं. ९ जिलिङ नलगाउँमा रहेको विद्यालयको कुनै आयश्रोत नभएको र गाउँमै समय अनुसारको प्राविधिक शिक्षा विद्यार्थीहरुलाई दिने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागेको हो ।

निजी विद्यालयको बढ्दो चुनौतीसँगै त्यसतर्फ नै विद्यार्थीहरुको लाम लागिरहेको अवस्थामा सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरिय बनाउनुपर्ने जिम्मेवारी र योजना लिएर ग्रामिण भेगमा समुदायले नै प्राविधिक शिक्षा सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । त्यसका लागि आर्थिक स्रोतको समस्याका कारण विद्यालयले आवश्यक रकम जुटाउनका लागि श्रीमद्भागवत सप्ताह बृहत धार्मिक तथा शैक्षिक महोत्सव धार्मिक तथा शैक्षिक महोत्सव आयोजना गरिएको मूल समारोह समितिका अध्यक्ष नवराज गजुरेलले जानकारी दिनुभयो । महायज्ञमा नेपालकै चर्चित बथावाचक बालतपस्वी पण्डित उत्तम भट्टले कथा बाचन गर्नेछन् । यो उहाँको १०८ श्रीमद्भागवत राष्ट्र शान्ति महायज्ञको ८३ औँ अनुष्ठान हो ।
२३ वर्षअघि २०५३ सालमा स्थापना भएको यस विद्यालयबाट बालबालिकाले घर आँगनमै अध्ययन गर्ने अवसर पाएपनि विद्यालय भवन, शिक्षकलाई तलब खुवाउनसमेत धौ धौ हुनेजस्ता चरम आर्थिक संकटबाट गुज्रिँदै आएको थियो । हाल कक्षा ८ सम्म पढाई हुने यस विद्यालयले विद्यालयको अक्षयकोष स्थापनाका साथै आधुनिक र अहिलेको विकसित समयको माग अनुसार गुणस्तरिय एवं प्राविधिक शिक्षा सञ्चालनका लागि शैक्षिक महोत्सवबाट आर्थिक स्रोत संकलन गर्न लागिएको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुराम गजुरेलले बताउनुभयो ।

विद्यालयलाई आवश्यक भौतिक संरचनाको अभाव हुनुका साथै अभिभावकहरु सम्मिलित समुदायस्तरबाटै सञ्चालित विद्यालयले ८ जना शिक्षकहरुमध्ये ६ जना आफ्नै स्रोतबाट तलब दिँदै आएको छ । ‘आर्थिक संकटबाट छुटकारा पाउनकै लागि अहिले विद्यालयले गुणस्तरिय पढाई सुरु गर्न विभिन्न उपाय खोजिरहेको र यसैक्रममा श्रीमदभागवत सप्ताह वृहद धार्मिक शैक्षिक महोत्सव गर्ने योजना बनाएका हौँ’, महोत्सव आयोजक समितिका अध्यक्ष बाबुराम गजुरेलको भनाई छ ।
उनका अनुसार धार्मिक शैक्षिक महोत्सव यही बैशाख २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ भने यसबाट ६० लाखदेखि एक करोडसम्म दानसहयोग बापत आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखिएको छ । त्यसको लागि सम्पूर्ण तयारी भइसकेको विद्यालयका प्रद्यानाध्यापक रामेश्वर रिजालले जानकारी दिनुभयो । पहिलो दिन २२ गते बिहान ९ बजे कलस यात्रा गरेर दिउँसो १ बजे धार्मिक शैक्षिक महोत्सवको विधिवत उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी प्रद्यानाध्यापक रिजालले बताउनुभयो । ‘महायज्ञ अघि नै केही व्यक्तिहरुबाट सहयोग रकमको प्रतिबद्धता पनि आइसकेको छ’, रिजालले बताउनुभयो ।
महायज्ञबाट उठ्ने रकमले विद्यालयको भौतिक संरचना निर्माण तथा सुधार गर्नुका साथै शैक्षिक जनशक्ति व्यवस्थापन र गुणस्तरिय तथा प्राविधिक शिक्षामा लगानी गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर प्रसाद गजुरेलले जानकारी दिनुभयो । महायज्ञमा हरेक दिन संगितमय श्रीमदभागवत कथा पितृमुक्ति, शालिग्राम पूजन अर्चना, ब्रतबन्ध तथा तुलसी दानका साथै रुद्री, चौरासी पूजा र जन्मोत्सव पूजा कार्यक्रम समेत गरिने छ । हरेक दिन बेलुकी ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा सहित भजनकृतन र झाँकी प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्