१२ श्रावण २०८१, शनिबार
Logo

आदिवासी जनजातिको हक अधिकार दबाउने षड्यन्त्र

काठमाडौं / सम्पदा अभियन्ता यादवलाल कायस्थको घरमा फेरी प्रहरीले अनुसन्धान जारी गरेका छन् । यादवलाई खोज्न आएको भन्दै पुगेका २० जना जतिको प्रहरीको टोलीले हिजो विहान घरमा सर्च गरेको थियो । प्रहरी घरमा पुग्दा कायस्थ भने घरमा थिएनन् । प्रहरीले कायस्थ घरमै लुकेर बसेको आशंकाले हरेक कोठा र दराजहरु पनि खोलेर हेरेर गएका थिए ।

यसैक्रममा प्रहरीले यादवको परिवारलाई भने धम्कीपूर्ण भाषाको प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । सर्चको समयमा यादवको घर पुगेका अन्य अभियन्ताहरुका अनुसार प्रहरीले तेश्रोपल्ट फेरी आउनुपरे राम्रो नहुने भन्दै गएको बताएका छन् । सो बेलामा उपस्थित अभियन्ताहरुले कुनै ठुलै अपराधीलाई पक्राउ गर्न आएको शैलीमा १५–२० जना हतियारधारी प्रहरीहरु यसरी आउनु पर्नाको कारण बुझ्न नसकेको जानकारी दिए ।

प्रहरी श्रोतका अनुसार यादवको घरसँगै जोडिएका उनका नातेदारहरुसँगको घरायसी झगडा र सो झगडाको क्रममा गालीगलौज गरेकोमा उजुरी परेको हुनाले सोधपुछ गर्नुपर्ने बताएका छन् । यसै सन्दर्भमा अभियन्ताहरुले घरायसी झगडाको मामिलामा दुइ भ्यान हतियारधारी प्रहरी आउनुपर्नाको कारण स्पष्ट पार्न माग गरेका छन् ।

यसका साथै यादवसँग झगडा परेका उनका नातेदार पक्षले वार्ताको क्रममा यादवले नेवाः राजनीतिक अभियानको उपाध्यक्ष पदबाट राजीनामा दिनुपर्ने शर्त राखेको बताए । यस आधारमा यो कुनै घरायसी झगडा नभई आदिवासी जनजातिको हक अधिकारको लागी शुरु भएको आन्दोलन दवाउने षडयन्त्र भएको दावी अभियन्ताहरुले गरेका छन् । घरायसी झगडाको रुप दिएर नेवाः आन्दोलनलाई दवाउन खोजिएको उनीहरुले भनाइ रहेको छ ।

‘यदि घरायसी झगडा हो भने कुनै आतंकवादी समूहलाई नै खोज्न आए जसरी दुइ भ्यान हतियारधारी प्रहरी आइ घरमा घेरा हाल्नुपर्ने किन रु र नेवाः राजनीतिक अभियानबाट राजीनामा दिनु माग गर्नुपर्नाको कारण के हो ? यो नेवाः आन्दोलन दवाउने ठुलो र उच्च तहकै षडयन्त्र हो ।’ आफु लुकेर बसेको नभई, केही समय गुप्तवास बसेको र जातीय समानताको आन्दोलनमा लागि नै रहने कायस्थको भनाई हो ।

प्रतिक्रिया दिनुहोस्