२४ माघ २०८१, बिहीबार
Logo

बुङताङ सुन्तलाको पकेट क्षेत्रमा विस्तार हुँदै

बुङताङ / केही वर्ष अघिसम्म कोदो र मकै मात्र फलाउने नुवाकोटको बुङताङका पाखोबारीमा अहिले सुनझैं लठरम्म पाकेका सुन्तलाले भरिएको छ ।

बुङताङका गरबहादुर तामाङको प्रयासमा म्यागङ गाउँपालिका वडा नं. २ (साविक बुङताङ गाविस) लाई सुन्तलाको पकेट क्षेत्र विस्तारको चरणमा रहेको छ ।

सुन्तला खेतीका लागि राम्रो हावापानी र राम्रो उत्पादन हुने भएपछि अधिकांश जमिनमा त्यहाँ सुन्तलाका बोट रोपिएको छ । ‘मेरो पाखोबारीमा पहिले २२ पाथी कोदो फल्थ्यो, गरबहादुर भन्छन्– ‘अहिले यही बारीमा ५ देखि ६ लाख रुपैयाँको सुन्तला फल्छ ।

गरबहादुरले २०५६ सालमा सुन्तलाको विरुवा परीक्षणको रुपमा रोपेका थिए । पहिले चार जनाले पाँच सय विरुवा रोपिएकोमा अहिले २० हजार विरुवा रोपिएको छ । ६० जना किसानले व्यवसायिक सुन्तला खेतीमा छन् । ‘सुन्तला रोपौँ समृद्ध बनौँ’ भन्ने नाराका साथ सुरु गरिएको सुन्तला खेतीको लागि यस वर्ष गाउँपालिकाले विरुवामा ५० प्रतिशत अनुदान दिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

अहिले सुन्तला खेतीबाट सबै खर्च कटाएर वार्षिक चार लाख रुपैयाँ आम्दानी गरिरहेका गरबहादुर अवको दश वर्षमा वार्षिक ५० लाख रुपैयाँ सुन्तला खेतीबाट आम्दानी लिने महत्वकाक्षी योजना बोकेका छन् । ‘अवको दश वर्षमा वार्षिक ५० लाख रुपैयाँ सुन्तलाबाटै आम्दानी हुन्छ, उनले थपे– ‘यति आम्दानी गर्दा मेरो जतिको ठूलो व्यवसाय, सुखी जीवन र सरकारी पेन्सनवालाको भन्दा कम हुने छैन ।

अहिले पनि बुङताङबाट वार्षिक ३५ देखि ४० लाख रुपैयाँको सुन्तला निर्यात हुँदै आएको छ । उत्पादित सुन्तला सदरमुकाम विदुरलगायतका बजार क्षेत्रमा विक्री हुँदै आएको छ । सुन्तला मात्र होइन, बुङताङमा अलैची, एभोकाडो, किवी, र जापानीज कटुसलगायतका खेती पनि भइरहेको छ ।

बुङताङलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरी कृषकहरुलाई आवश्यक सहयोग गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्ने उनी बताउँछन् । ‘विउ, प्राविधिक र सडक सुधारमा राज्यले सहयोग गरे हाम्रो उद्देश्य पूरा हुन्छ, उनले भने– ‘गाउँ पनि समृद्ध बन्छ ।

बुङताङ-२ कै छेपोन तामाङले पनि दुई वर्ष अघि गरबहादुरकै प्रेरणाबाट दश रोपनी जग्गामा सुन्तलाखेती सुरु गरेका छन् । ६० हजार खर्च गरेर धान खेती गर्दा ५० हजारको मात्रै धान उत्पादन भएपछि उनले गरबहादुरकै सल्लाहमा सुन्तला खेती सुरु गरेका हुन् ।

छेपोनले ४ सय २५ विरुवा रोपेका छन् । आगामी वर्षदेखि उनले रोपेको सुन्तलाबाट उत्पादन दिन थाल्ने उनी बताउँछन् । भवन निर्माणको लागि भारतमा मजदुर पठाउने काम गर्दै आएका छेपोनको पेटमा समस्या भएपछि उनको पेटमा कृतिम आन्द्रा राखियो । ‘डाक्टरकै सल्लाह गाउँमै बसेर स्वच्छ वातावरणमा रमाउने भन्ने थियो, उनले थपे– ‘अवको समय गाउँमै पौरख गरिन्छ, स्वच्छ हावा खाइन्छ ।’ उनले पनि कुखुरापालन व्यवसाय गरेका छन् । एभरेष्ट कृषि फर्म, बंगुर फार्मसमेत सञ्चालन गरिरहेका छन् । उनी पनि राज्यले उत्पादनका लागेका व्यवसायीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन गरी उत्पादित सामानलाई बजारीकरणको व्यवस्था राज्यले मिलाउनुपर्ने सुझाव दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्