३१ श्रावण २०८३, आईतवार
Logo

नेकपा एमाले नुवाकोटका उपाध्यक्ष एवं बेल्कोटगढीका पूर्वमेयर राजेन्द्ररमण खनालको निधन

नुवाकोट, ३१ साउन ।
नेकपा एमाले नुवाकोटका जिल्ला उपाध्यक्ष एवं बेल्कोटगढी नगरपालिकाका पूर्वप्रमुख (मेयर) राजेन्द्ररमण खनालको निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहनुभएका खनालको निधनले सिङ्गो नुवाकोट जिल्ला स्तब्ध बनेको छ।

खनाल नुवाकोटको राजनीतिक र सामाजिक क्षेत्रका एक स्थापित व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ विक्रम संवत २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन मदानपुर गाउँ विकास समितिको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो। पछि उहाँले जिल्ला विकास समिति (जिविस) सदस्यको रूपमा समेत जिम्मेवारी निभाउनुभएको थियो। देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भएको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा उहाँ बेल्कोटगढी नगरपालिकाको पहिलो नगरप्रमुख (मेयर) पदमा निर्वाचित हुनुभएको थियो।

नेकपा एमालेका विभिन्न कमिटीहरूमा रहेर नेतृत्वदायी भूमिका खेल्नुभएका नेता खनालको निधनले सिङ्गो जनसमुदाय, नेकपा एमाले पार्टी र नुवाकोटको कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको छ। उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै उहाँका शोक सन्तप्त परिवारजन र पार्टी पङ्क्तिप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्