१२ श्रावण २०८१, शनिबार
Logo

एमालेलाई कसैले हराउन सक्दैन, निर्वाचन पछि पुनः सरकारमा आउछ – अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताउनुभएको छ । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै चुनावकाे माध्यमबाट फेरि सरकारमा आउने दाबीसमेत गर्नुभयो । 

आफ्नो ७१ औँ जन्मदिनको अवसर पारेर आज बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि बताउनुभयो । अध्यक्ष ओलीले आफूहरूले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोपसमेत लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिँदैन । एउटै सर्तमात्रै उसलाई हराउन सकिन्छ, उसलाई जमिनबाट छुटायो भने । अथवा जमिनबाट माथि उठायो भने । तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ । अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चार जना न्यायाधीशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई । अलिकति मौका मिल्यो भने । तर आखिर उचालेको उचाल्यै कहाँ हुन्छ ? हामी जमिनमा छोइ हाल्छौँ, टेकी हाल्छौँ । जनतासँग एकाकार भइहाल्छौँ । नेकपा एमाले फेरि आउँछ । जनताबाट जन्मिएको, जनताको बीचमा हुर्किएको, जनताका लागि बनेको यो पार्टी, देशका लागि बनेको यो पार्टी, जनताको सुःख र समृद्धिका लागि बनेको पार्टी, त्यस कारणले यसले जनताको साथ प्राप्त गर्छ ।’

अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्ण रूपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता पनि दोहोर्‍याउनुभयो । त्यस अवसरमा उहाँले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गर्नुभयो । 

Shivapuri rural municipality awareness message jalapanews

कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गर्नुभएको विचारहरुको सङ्गालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्