मनकारी सावित्रीः ९ लाखको जग्गा नि:शुल्क दान
मुलुक संघीय संरचनामा गएसँगै निर्वाचनमार्फत केन्द्रमा रहेका सिंहदरबार गाउँ गाउँमा पुग्यो । ४ वर्षअघि गाउँ गाउँमा पुगेका धेरैजसो पालिकाहरुले आफ्नो कार्यालय र वडा कार्यालय स्थापना गर्न सकेका छैनन् । कहिले वडाध्यक्षको झोलाबाट कहिले भाडाको कोठाबाट कहिले नगरपालिकाको एउटा टेबलबाट सेवा दिइरहेको नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नंबर १ लाई अब भने बल्ल सहज हुने भएको छ ।
४ वर्षअघि नै निर्वाचित जनप्रतिनिधि चुनिएर काम सुरु भएपनि वडा कार्यालयको आफ्नै भवन निर्माण हुन सकेको थिएन । जग्गा अभावका कारण भवनबिनै सेवा दिइरहेको वडालाई स्थानीय सावित्री कुमारी ढुङ्गानाले जग्गा दान दिनुभएको छ । अब आफ्नै जग्गा भएपछि भवन निर्माण गर्न र काम अघि बढाउन वडा कार्यालयलाई सहज भएको छ । राज्यको सम्पत्ति दोहन गरेर आफ्नो पोल्टा भर्नेहरुको कमी नभएको देशमा सावित्रिले निजी जग्गा सरकारलाई दान गरेर उदाहरण बन्नुभएको छ ।
बेलकोटगढी नगरपालिकामा घुस खाने दुइ जना प्राविधिकलाई अख्तियारले रंगेहात पक्राउसमेत गरेको थियो । सावित्रीले बेलकोटगढी १ आरुखर्कमा रहेको २ रोपनी जग्गा वडा कार्यालयलाई उपलब्ध गराउनुभएको छ । सो जग्गाको मुल्य ९ लाख भन्दा बढी मुल्याङ्कन गरिएको छ ।
स्थानीय समाजसेवी तथा नेकपा माओवादी (केन्द्र) का अध्यक्ष कृष्ण ढुंगानाको पहलमा सावित्रीले पास गरेको जग्गा यही पुस १९ गते नामसारी भइ वडा कार्यालयको नाममा पुर्जा जारी भएको छ । सधैँ नगर र वडा कार्यालयले काम गरेन केही गरेन भनेर गुनासो मात्रै गर्ने नागरिकका सामु नगर र वडाप्रति नागरिकको पनि जिम्मेवारी हुन्छ भन्ने कुराको उदाहरण हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्