एमाले सांसद भीम रावलद्वारा राजीनामा

नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । राजीनामाको वक्तव्य पढ्दै उहाँले उच्च नेतृत्वको स्वेच्छाचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताउनुभयो ।

यसअघि एमाले सांसदहरुले रावलको राजीनामा रोक्ने प्रयास गरे पनि सफल भएनन्। माधवकुमार नेपाल समूहमा रहेका रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा राजीनामा दिने घोषणा गर्नुभएको थियो । रावलले संसद भवन पुगेर पत्रकारअगाडि राजीनामा पत्र वाचन गर्न खोज्दा पनि सुरेन्द्र पाण्डे लगायतका नेताहरुले रोक्ने प्रयास गरेका थिए ।
रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ । यसअघि शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्दा रावलसहित एमालेका माधव नेपाल पक्षका २६ सांसदले समर्थन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्